सरकारले गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनासँग कुनै विशेष वा ठोस सम्झौता नगरेको स्पष्ट पारेको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रका सरोकारवालासँग भेट गरी वस्तुस्थितिबारे जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताए।
पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनबाट प्रभावित पक्षहरूसँग भेटघाट र छलफल गरेका थिए। सोही क्रममा भएका भनिएका सहमतिबारे प्रश्न उठेपछि मन्त्री पोखरेलले सरकारको तर्फबाट कुनै एक विषयमा आधारित भएर सम्झौता नभएको दाबी गरे।
उनले गृहमन्त्रीले विभिन्न पक्षसँग छलफल गरी आवश्यक विषयमा संवाद गर्न सकिने धारणा राखेको र उनीहरुले अघि सारेका मागमात्र बुझेको उल्लेख गरे।
“गृहमन्त्रीज्यूले विभिन्न स्टेकहोल्डरसँग भेटेर कुराकानी गर्नुभएको हो। तत्कालका लागि उठेका विषयमा छलफल गर्न सकिन्छ भन्ने कुरा भएको हो। कुनै एउटा विशेष मुद्दामा सकारात्मक वा नकारात्मक हुने गरी सम्झौता भएको छैन,” मन्त्री पोखरेलले भने।
उनले गृहमन्त्रीको भ्रमणका क्रममा भएका छलफल र सहमतिबारे थप स्पष्ट जानकारी आवश्यक भए स्वयं गृहमन्त्रीले नै सार्वजनिक गर्ने बताए।
सरकारले आन्दोलनरत पक्षका माग, शान्ति सुरक्षा अवस्था र समग्र समस्याबारे संवादको बाटो खुला राखिएको जनाएको छ। साथै, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन आएपछि त्यसका आधारमा आवश्यक कारबाही अघि बढाउने मन्त्री पोखरेलले बताए।
प्रकाशित: १९ श्रावण २०८३ २१:०१ मंगलबार





