नेपाली कांग्रेसको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले १४औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वको कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन्।
कांग्रेसको १५औं नियमित महाधिवेशनअन्तर्गत रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले आधिकारिक कांग्रेस भएकै कारण १५औं महाधिवेशन सम्पन्न गर्न लागिएको उल्लेख गरे।
डा. कोइरालाले नेपालको अहिलेको अर्थतन्त्रको जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए।
आर्थिक तथा बहुदलीय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बसालेको उल्लेख गर्दै उनले भने, ‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँगाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्यको आधारशिला तयार पारेको हो। त्यही सरकारले विश्वविद्यालयको संख्या र एयरलाइन्सको संख्या वृद्धि गरेको हो।’
कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य बनेको उनको भनाइ छ।
नेपाली कांग्रेसका आदर्श र सिद्धान्त राम्रो भएकाले सबै साथीहरूलाई समेट्न सके पार्टी बलियो बन्ने कोइरालाले बताए। ‘त्यसैले कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ,’ उनले भने।
प्रकाशित: ११ मंसिर २०८३ १९:३८ शुक्रबार


1-600x400.jpg)


