प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।
उनको तर्फबाट श्रीमती कविता पाण्डेले शुक्रबार आयोगको ललितपुरस्थित कार्यालयमा उजुरी दर्ता गराएकी हुन्।
उजुरीमा प्रहरीले आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा राखी मानसिक यातना दिएको, पूर्वप्रधानन्यायाधीश, राजनीतिक दलका शीर्ष नेता, व्यवसायी र सर्वोच्च अदालतका न्यायाधीशहरूविरुद्ध बयान दिन दबाब दिएको तथा झुटा प्रमाण र अडियो तयार पारेको आरोप लगाइएको छ।
उजुरी दर्ता भएसँगै आयोगले सापकोटालाई राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्ष निरीक्षण गर्ने निर्णय गरेको छ।
पाण्डेले नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम पतिको जीवन रक्षाको माग गर्दै उजुरी दिएकी हुन्।
आयोगमा १६४४ नम्बरमा दर्ता भएको उक्त उजुरीमा पति इनमलाई भेट्नसमेत नदिएको र सुरक्षा निकायले अमानवीय व्यवहार गरी मानव अधिकार हनन गरेको उल्लेख छ।
पाँच पृष्ठ लामो निवेदनमा अध्ययन तथा व्यावसायिक कामका लागि नयाँ दिल्ली जान गत असोज १४ गते बिहान करिब १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सापकोटालाई बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँच स्थलमा पुग्दा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।
त्यसक्रममा साथमा रहेका दुईवटा मोबाइल फोन खोसेर गाडीमा राखी आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगिएको र असोज १५ गते साँझसम्म पट्टी बाँधेरै राखिएको आरोप छ।
सोधपुछका क्रममा ‘तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरूविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको निवेदनमा उल्लेख छ।
उनीहरूविरुद्ध बयान दिए छाडिदिने, नत्र आफू मात्र नभई सम्पूर्ण परिवारकै जिउज्यान खतरामा पार्ने र लामो समय जेल बस्ने गरी झुटा मुद्दा लगाउने धम्की दिँदै मानसिक यातना दिइएको दाबी गरिएको छ।
नाम लिइएकामध्ये कतिपयसँग व्यक्तिगत चिनजान रहेको, कोही गुरु र शिक्षक रहेको तथा कोही चिन्दै नचिनेका सार्वजनिक पदमा रहेका व्यक्ति भएको निवेदनमा जनाइएको छ।
निवेदनअनुसार प्रहरीले एकतिरको आँखाको पट्टी माथि सारी आफूहरूले लेखेको कागज सबैले सुन्ने गरी ठूलो स्वरमा पढ्न लगाएको थियो। बीचबीचमा रोक्दै बिस्तारै ठूलो स्वरमा पढ्न लगाइएको र पछि ती कुरा लेखिएको कागजमा दस्तखत गर्न भन्दा आफूलाई जानकारी नै नभएका झुटा कुरामा सही गर्न इन्कार गरेको उल्लेख छ।
पछि नेपाली कांग्रेसको आधिकारिकताको विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङ लगायतका विषयमा सार्वजनिक भएको अडियो त्यही दिन पढ्न लगाइएको सामग्री काँटछाँट गरी बनाइएको दाबी निवेदनमा छ।
अडियो परीक्षणका नाममा प्रहरीले स्वरबारे सोध्दा आफूले ‘आवाज आफ्नैजस्तो रहेको तर भनेका कुरा याद नभएको’ बयान दिएको र सोही अडियोका आधारमा बयान दिन मानसिक दबाब दिइएको आरोप लगाइएको छ।
यस्तै, प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म अन्य अनाधिकृत व्यक्तिलाई दिएको र ती व्यक्तिबाट छेडखानी गरी हुँदै नभएका प्रमाण तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जित कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको समाचार आएकाले आयोगबाट छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न माग गरिएको छ ।
कागजमा सही गर्न नमानेपछि पुनः आँखामा पट्टी र त्यसमाथि चस्मा लगाएर असोज १५ गते साँझ जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएको र दुईवटा कागज खल्तीमा हालिदिएर थुनामा राखिएको निवेदनमा दाबी छ।
भोलिपल्ट असोज १६ गते बिहान करिब ८:३० बजे हतकडी लगाएर यात्राका लागि लगिएका दुईवटा सुटकेससहित काठमाडौं महानगरपालिका-३ स्थित पानीपोखरी हाइट होम्स अपार्टमेन्टमा खानतलासीका लागि लगिएको उल्लेख छ। हतकडी लगाएकै अवस्थामा घरभित्र लगिँदा पाँच महिने छोरीसहित श्रीमती र जेठानहरू आत्तिएको निवेदनमा जनाइएको छ।
खानतलासीका क्रममा पुरानो ल्यापटप, पुरानो फोन र केही कागजात मात्र फेला परेपछि बाहिर आँगनमा राखिएको सुटकेसको साइड ब्यागबाट विदेशी मुद्रा निकाली घरमै फेला परेको भनी मुचुल्का बनाइएको आरोप लगाइएको छ।
मुचुल्का बनाउँदा श्रीमतीको दस्तखत पहिल्यै खाली पेजमा गराइएको र दुई दिनअघि नै खोसिएको आइफोनसमेत घरबाटै बरामद भएको उल्लेख गर्न खोज्दा आफन्तले प्रश्न उठाएपछि हटाइएको दाबी गरिएको छ।
निवेदनमा असोज १४ गते साँझ विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिलालगायत सर्वसाधारणमाथि अश्लील हर्कत गरी अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरिनु गलत भएको जिकिर छ।
आफूलाई विमानस्थलभित्रबाटै पक्राउ गरिएकाले सीसीटीभी फुटेज र बोर्डिङ पास जाँच गर्न माग गर्दा प्रहरीले साथमा रहेको १ हजार ३ सय अमेरिकी डलर र केही भारतीय रुपैयाँलाई राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर देखाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको उल्लेख छ।
कानुन व्यवसायीले नेपाल राष्ट्र बैंकको विदेशी विनिमयसम्बन्धी परिपत्र २०८२ को विषयसूची ९ बमोजिम नेपाली नागरिकले नगदै राख्न र सटही गर्न पाउने कानुनी व्यवस्थाअनुसारै डलर साथमा लिएर गएको जिकिर गरेपछि प्रहरीले सो मुद्दामाथि सम्पत्ति शुद्धीकरण मुद्दा थप गरी स्वतन्त्रता हरण गरेको आरोप लगाइएको छ।
अनुसन्धानका सामग्री बाहिर चुहाएर आरोप प्रमाणित नहुँदै आफूलाई देशकै सबैभन्दा ठूलो बिचौलिया र फिक्सर जस्ता उपनाम दिई मिडिया ट्रायल गरिएको तथा श्रीमतीले कागज गर्न जाँदा समेत प्रहरीको फन्दामा परेको जस्ता शब्द लेखी बदनाम गराइएको गुनासो निवेदनमा छ।
यसबाट संविधानको धारा २० ले प्रदत्त गरेको न्यायसम्बन्धी हक (निर्दोषिताको अनुमान र स्वच्छ सुनुवाइ) तथा धारा २८ को गोपनीयताको हक हनन भएको भन्दै संलग्नमाथि कारबाही र परिवारको जिउज्यान रक्षाको माग गरिएको छ।
के हो इनम सापकोटा प्रकरण ?
३० वर्षीय इनम सापकोटा न्यायालय, सुरक्षा निकाय र राजनीतिक वृत्तमा बिचौलियाको भूमिका खेलेको आरोपमा करिब डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मोबाइल जाँचका क्रममा अदालतका मुद्दा मिलाइदिने तथा प्रहरीको बढुवामा सहयोग गर्ने आश्वासन दिएका सन्देश र नियमित फोन सम्पर्क देखिएपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए।
प्रहरीले सापकोटामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। यही प्रकरणमा सापकोटासँगको सम्पर्क र आर्थिक कारोबारको आशंकामा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट र नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
बिहीबार मात्रै सापकोटा, भट्ट र श्रेष्ठ तीनै जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। यसअघि दुई दिनअघि प्रहरीले सापकोटाकी श्रीमती कविता पाण्डेलाई समेत घटना विवरण कागज गराएको थियो।
यता, अनुसन्धानका क्रममा सापकोटाका मोबाइल फोन अनाधिकृत रूपमा बाहिर लगिएको र प्रारम्भिक अडियो बयान बाहिर चुहिएको विषयलाई लिएर प्रहरीको अनुसन्धान प्रक्रिया र व्यावसायिकतामाथि समेत सार्वजनिक रूपमा प्रश्न उठिरहेको छ।
प्रकाशित: ११ मंसिर २०८३ १९:०३ शुक्रबार



1-600x400.jpg)

