१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

इरानी विदेशमन्त्रीको आरोप : इजरायलले अमेरिकालाई फेरि युद्धमा तान्न उक्साइरहेको छ

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले रासायनिक हतियार निर्माण गरेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्।

विदेशमन्त्री अराघचीले बुधबार इरानले रासायनिक हतियार विकास गरिरहेको र लुकाइरहेको भन्ने आरोप निराधार भएको बताएका छन्। उनका अनुसार यस्ता आरोपको उद्देश्य क्षेत्रीय तनाव बढाउनु हो।

यसअघि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमाथि रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएका थिए। उनले इजरायलले इरानलाई त्यस्तो क्षमता हासिल गर्न नदिने बताएका थिए।

उक्त आरोपको जवाफ दिँदै अराघचीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले भनेका छन्, ‘इजरायली शासनले आणविक, रासायनिक वा जैविक हतियारमाथि प्रतिबन्ध लगाउने कुनै पनि सन्धिमा सहभागी हुन अस्वीकार गरेको छ। ऊसँग सयौँ आणविक हतियार छन्। उसले यस क्षेत्रका सात देशमाथि आक्रमण गरेको छ भने तीन देशका भूभाग कब्जा गरेको छ। पछिल्लो एक वर्षमा मात्रै उसले इरानविरुद्धका दुई असफल युद्धमा अमेरिकालाई समेत तानेको छ।’

उनले थप भनेका छन्, ‘अब युद्ध भड्काउने त्यही देश निर्लज्जतापूर्वक इरानमाथि आरोप लगाइरहेको छ। इरान आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर गर्ने देश हो। रासायनिक हतियार प्रतिबन्धसम्बन्धी संगठन (ओपीसीडब्ल्यू) को सदस्य पनि हो। इरान आफैँ पनि रासायनिक हतियारको सिकार भएको देश हो। ती हतियार पश्चिम जर्मनीले सद्दाम हुसेनको शासनलाई उपलब्ध गराएको थियो।’

अराघचीले इजरायलले औषधि उत्पादन गर्ने कारखानामा खतरनाक हतियार निर्माण गरेर लुकाइरहेको आरोपसमेत लगाएको बताए। उनका अनुसार यस्ता अभिव्यक्तिमार्फत इजरायलले अमेरिकालाई पुनः युद्धमा तान्न खोजिरहेको छ।

इजरायलका रक्षामन्त्रीले इरानमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरेका थिएनन्।

प्रकाशित: १० मंसिर २०८३ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App