झापामा विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरूले वामपन्थी शक्तिहरूको पुनर्गठन अभियान सुरु गरेका छन्।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा (संयुक्त), नेकपा (माओवादी) तथा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग सम्बद्ध नेताहरूले संयुक्त अपिल जारी गर्दै वामपन्थी शक्तिहरूलाई पुनर्गठित गर्ने अभियान अघि बढाएका हुन्।
बिर्तामोडमा आयोजित समीक्षा बैठकपछि जारी गरिएको अपिलमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई अबको प्रमुख एजेन्डा बनाउनुपर्नेमा विशेष जोड दिइएको छ।
निर्वाचन परिणामले वामपन्थी शक्तिप्रति जनताको भरोसा कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै नेताहरूले विचारभन्दा व्यक्तिवाद हाबी हुनु र आन्तरिक लोकतन्त्र कमजोर हुनु हारका मुख्य कारण भएको बताएका छन्।
अपिलमा भनिएको छ, ‘लामो समय सत्ता र संगठनमा रहे पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्न नसक्नु, पार्टीभित्र गुटबन्दी र अवसरवाद बढ्नुले समग्र आन्दोलनको विश्वसनीयतामा गम्भीर असर पारेको छ।’ साथै, पुरानो कार्यशैली त्याग्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ।
संयुक्त अपिलमा हस्ताक्षर गर्ने नेताहरूले वामपन्थी दलहरूलाई जनमुखी र उत्तरदायी बनाउन नेतृत्व तहमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।
छरिएर रहेका वामपन्थी शक्तिबीच एकता अपरिहार्य रहेको निष्कर्ष निकाल्दै साझा विचार र कार्यक्रमका आधारमा सुदृढीकरण अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ।
राष्ट्रिय हित, लोकतन्त्र र समाजवादको लक्ष्य हासिल गर्न विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ ढङ्गले अघि बढ्न सबै वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ।
बिर्तामोड बैठकपछि जारी संयुक्त अपिलमा १० जना नेताहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा स्वतन्त्र वामपन्थी नेता नरेश, नेकपा (एमाले) का रबिन कोइराला र गणेश, नेकपाका झलकसिंह दर्लामी, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी र पुष्प, प्रगतिशील लोकतान्त्रिक पार्टीकी लक्ष्मीदेवी न्यौपाने, नेकपा (संयुक्त) का नीलमणि तथा नेकपा (माओवादी) का अर्जुन पाण्डे छन्।
रञ्जित तामाङ झापा–५ बाट फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए भने झलकसिंह दर्लामी सोही पार्टीका झापा इन्चार्ज हुन्।
प्रकाशित: ९ चैत्र २०८२ २१:०२ सोमबार





