राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बोध नारायण श्रेष्ठले पृथ्वी राजमार्गको गल्छीदेखि मुग्लिङसम्मको सडकखण्ड तत्काल निरीक्षण गरी सम्भावित क्षति रोक्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले पृथ्वी राजमार्ग नेपालकै ‘लाइफलाइन’ भएकाले यसको सुरक्षामा तत्काल ध्यान दिनुपर्ने बताए।
त्रिशूली नदीले गल्छीदेखि मुग्लिङसम्मको सडकखण्डमा कटान गरिरहेको बताउँदै उनले सडक जुनसुकै बेला क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुनसक्ने अवस्था रहेको बताए।
श्रेष्ठले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्काल रोड अडिट टोली गठन गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गरे।
टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्नुपर्ने र तत्काल गर्न सकिने रोकथामका काम पहिचान गरी कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ।
‘पृथ्वी राजमार्ग असाध्यै महत्वपूर्ण छ। त्यसैले सम्भावित क्षति रोक्न तत्काल काम अघि बढाउनुपर्छ,’ उनले भने।
प्रकाशित: ८ आश्विन २०८३ १२:२८ बिहीबार


-600x400.jpg)


