नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका एक नेपालीको रिहाइका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले हर्मुज क्षेत्रमा इरानी सुरक्षा नियन्त्रणमा रहेका युवकको रिहाइका लागि कुटनीतिक र राजनीतिक पहल अविलम्ब अघि बढाउन आग्रह गरेका हुन्।
उपसभापति शर्माले हर्मुजमा इरानी सुरक्षा निकायको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रहेको पनि उल्लेख गरेका छन्।
'झा´को रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा,' शर्माले लेखेका छन्।
परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले स्ट्रेट अफ हर्मुजबाट सुरक्षा निकायले एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको भनेर शुक्रबार जानकारी दिएका थिए।
प्रकाशित: ७ चैत्र २०८२ २१:३२ शनिबार





