भोटेकोशी बाढीमा परी विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बाढी तथा विपद्का कारण ठूलो मानवीय क्षति भएको बताए।
उनले बाढीमा परी नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारी सम्पर्कविहीन रहेका जानकारी दिए। त्यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा १ हजार ४३३ जना कार्यरत रहेकाेमा ९५५ सकुशल रहेको र ४३९ जना अझै सम्पर्कविहीन रहेको उनले बताए।
बाढी आएको १२औँ दिनमा उक्त आयोजनाबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको र आयोजनाबाट हालसम्म ३९ वटा शव फेला परेको मन्त्री श्रेष्ठले जानकारी संसद्लाई जानकारी गराए।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाबाट ३९ जना सम्पर्कविहीन रहेको उनले बताए। निरन्तर खोज तथा उद्धारका क्रममा बाढी आएको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको र उक्त आयोजनाबाट एक जनाको शवसमेत फेला परेको उनले बताए।
मन्त्री श्रेष्ठका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’बाट १७८ जना, रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना, मैलुङ खोला जलविद्युत् आयोजनाबाट ७ जना र रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट ३ जना सम्पर्कविहीन छन्।
यसैगरी लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ३९ जना सम्पर्कविहीन हेकोमा १९ जनाको सकुशल उद्धार गरिएको र दुई जनाको शव निकालिएको उनले बताए।
चिलिमे जलविद्युत् केन्द्रको विद्युत् गृहमा खोज तथा उद्धारका क्रममा पाँच जना कर्मचारीको शव फेला परेको र अझै एक जना सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
त्यसैगरी मिडिल त्रिशूली गंगा जलविद्युत् आयोजनाबाट दुई जना, त्रिशूली जलविद्युत् केन्द्रबाट तीन जना तथा देवीघाट जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र र चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेका उनले संसद्लाई जानकारी गराए।
मन्त्री श्रेष्ठले विपद्का कारण जलविद्युत् आयोजनाका भूमिगत संरचनामा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
प्रकाशित: ७ आश्विन २०८३ १२:३५ बुधबार





