५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

एक मतदातामा २८४ रुपैयाँ खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनको समग्र प्रतिवेदनसहितको नतिजा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले खर्चलाई मितव्ययी बनाउन अघिल्ला निर्वाचनमा खरिद गरिएका सामग्री पुनः प्रयोग गरिएको जानकारी दिए।

उनका अनुसार निर्वाचन सामग्री खरिद गर्दा सरकारको स्वामित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी आवश्यक सामग्री खरिद गरिएको थियो। पचास प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गरिएका थिए भने १३ प्रकारका सामग्री आयोगबाट खरिद गरी जिल्लामा ढुवानी गरिएको थियो।

निर्वाचन प्रयोजनका लागि आयोगले रु सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरेकोमा अर्थ मन्त्रालयबाट रु छ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो। प्राप्त रकममध्ये हालसम्म रु तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको आयोगले जनाएको छ। केही खर्चको दायित्व सिर्जना भइसकेको र ती रकम भुक्तानी हुन बाँकी रहेको पनि जानकारी दिइएको छ।

निर्वाचनमा स्वदेशी तथा विदेशी पर्यवेक्षकलाई अनुमति दिइएको थियो। अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक नियोगका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए भने राष्ट्रिय स्तरमा ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।

आयोगले प्रतिनिधिमूलक लोकतन्त्रको यस प्रक्रियामा सहभागी भई मताधिकार प्रयोगमार्फत आफ्ना प्रतिनिधि चयन गर्ने तथा शासन सञ्चालन प्रक्रियामा योगदान पुर्‍याएका सम्पूर्ण मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ।

साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत, सुरक्षा निकाय, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तरराष्ट्रिय समुदाय तथा सञ्चारमाध्यमप्रति पनि आयोगले आभार व्यक्त गरेको छ।

 

प्रकाशित: ५ चैत्र २०८२ २१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App