६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमालेमा ३८ वर्ष बिताएकोमा पछुतो मान्दै उमेशले तोडे पार्टीसँगको आवद्धता

नेकपा एमाले इलामका नेता उमेश गुरुङले झण्डै ३८ वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा टुंग्याएका छन्। पार्टी नेतृत्वप्रति लामो समयदेखि प्रश्न उठाउँदै आएका गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत एमालेको प्रदेश कमिटी सदस्य र साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।

गुरुङले ‘मनभित्र नअटेका कुराहरू’ शीर्षकमा लामो स्टाटस लेख्दै आफ्नो राजनीतिक यात्राका उतारचढाव, पार्टीका लागि गरेको योगदान, भोगेका संघर्ष तथा पछिल्लो समय पार्टीभित्र आफूले अनुभव गरेको उपेक्षाबारे उल्लेख गरेका छन्।

उनका अनुसार २०४५/४६ सालको जनआन्दोलनको सुरुवाती चरणमा तत्कालीन नेकपा मालेसँग जोडिएका उनी २०४७ असारमा पार्टीको साधारण सदस्य बनेका थिए। त्यसपछि गाउँ कमिटी सदस्यदेखि सचिव, इलाका कमिटी हुँदै जिल्ला कमिटी सदस्य, जिल्ला उपसचिव र सचिवको जिम्मेवारी सम्हालेका गुरुङले आठ वर्ष पूर्णकालीन कार्यकर्ताका रूपमा बिताएका थिए।

२०६७ सालमा नेपाल पत्रकार महासंघ इलामको अध्यक्षसमेत बनेका गुरुङले २०८१ कात्तिकमा भएको एमाले जिल्ला अधिवेशनमा गुटभन्दा बाहिरबाट स्वतन्त्र उपाध्यक्षको उम्मेदवारी दिएको उल्लेख गरेका छन्। त्यसपछि आफू पार्टी नेतृत्वको गुटगत व्यवहारका कारण जिम्मेवारीविहीन हुनुपरेको उनको दाबी छ। करिब १९ महिना जिम्मेवारीविहीन रहेपछि असार ३ गते प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको उनले बताएका छन्।

गुरुङले एमालेमा सक्रिय रहँदा आफूले भोगेका राजनीतिक संघर्षसमेत स्मरण गरेका छन्। भारतीय सीमावर्ती गाउँमा एमालेको संगठन निर्माण गर्दा अपमान र आक्रमणसमेत खेप्नुपरेको, जौबारी र मानेभञ्ज्याङमा पटकपटक आफूमाथि आक्रमण भएको तथा २०६० साल जेठमा एमाले भएकै कारण २८ दिन माओवादीको अपहरणमा परेको उनले उल्लेख गरेका छन्।

तर आफ्नो राजनीतिक जीवनको सबैभन्दा पीडादायी प्रसङ्गका रूपमा उनले पार्टीको निर्देशन पालना गर्दा श्रीमती गुमाउनुपरेको घटना सार्वजनिक गरेका छन्।

झलनाथ खनाल प्रधानमन्त्री भएपछि २०६८ चैत २७ गते सुकिलुम्बा विमानस्थल शिलान्यास कार्यक्रममा पार्टीको निर्देशनअनुसार सहभागी हुन आफू इलाम आएको गुरुङले बताएका छन्। त्यसबेला मृत्युशय्यामा रहेकी श्रीमती मीना सिलिगुडीस्थित अस्पतालमा रहेकी थिइन्। छोरी पूजालाई श्रीमतीसँगै छाडेर पार्टीको कार्यक्रममा सहभागी हुन इलाम आएका उनी भोलिपल्ट अस्पताल पुग्दा श्रीमतीको राति नै मृत्यु भइसकेको अवस्थामा भेटेको स्मरण गर्छन्।

त्यसको पीडाले केही समयमै आमासमेत गुमाएको उनले बताएका छन्।

गुरुङले एमाले विभाजनका दुई चरणमा आफू मूलधारमै रहेको र पछिल्ला दुई स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न आकांक्षा राखे पनि टिकट नपाएको उल्लेख गरेका छन्। ‘सेटिङ, नातागोता र कृपापात्र’ बन्न नसकेका कारण अवसर नपाएको उनको दाबी छ।

‘टिकट नपाएकोमा पटक्कै पछुतो छैन,’ उनले लेखेका छन्, ‘पछुतो त सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ।’

आफूलाई संसदीय कार्यकारी भूमिकामा देख्न चाहने शुभचिन्तकहरूको चाहना पूरा गर्न नसकेको भन्दै गुरुङले क्षमासमेत मागेका छन्।

‘आजदेखि मैले एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारी र पार्टीको साधारण सदस्यसमेत त्याग गरेको छु,’ उनले घोषणा गरेका छन्, ‘बाँकी जीवन सामाजिक अभियान र लेखनमा पनि लाग्नेछु।’

बेस गर्नुभयो भन्दै केदार शर्माको समर्थन

गुरुङले एमाले छाडेको घोषणा गरेपछि लेखक केदार शर्माले पनि गुरुङकै फेसबुक टाइमलाइनमा प्रतिक्रिया जनाउँदै उनको निर्णयलाई समर्थन गरेका छन्।

शर्माले ३८ वर्ष हिँडेको बाटो छाड्ने निर्णयलाई ‘बेस गर्नुभयो’ भन्दै अब गुरुङको यात्रा अझ स्वतन्त्र ढंगले अघि बढ्न सक्ने बताएका छन्।

उनले राजनीतिक जीवनमा जिम्मेवारी लिनु जत्तिकै समय आएपछि जिम्मेवारी छाड्न सक्नु पनि महत्वपूर्ण भएको उल्लेख गरेका छन्। पद, संगठन र गुटको निरन्तर दौडमा जीवन बिताउने राजनीतिक संस्कारमाथि प्रश्न उठाउँदै शर्माले समयअनुसार आफूले रोजेको बाटोमा अघि बढ्नु स्वाभाविक भएको तर्क गरेका छन्।

गुरुङको स्टाटसमा उल्लेख भएको श्रीमतीको मृत्युको प्रसङ्गले आफूलाई विशेष रूपमा छोएको शर्माले बताएका छन्। पार्टीको निर्देशन पालना गर्न मृत्युशय्यामा रहेकी श्रीमतीलाई अस्पतालमा छाडेर राजनीतिक कार्यक्रममा सहभागी हुनुपरेको र फर्किंदा उनलाई गुमाइसकेको घटनालाई उनले राजनीतिक प्रतिबद्धताको मानवीय मूल्यको कठोर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

‘३८ वर्षपछि हिसाब गर्दा पद, टिकट र जिम्मेवारीका खाताभन्दा यस्ता मूल्यहरूको हिसाब धेरै ठूलो हुँदो रहेछ,’ शर्माले लेखेका छन्।

गुरुङले अब सामाजिक अभियान र लेखनमा लाग्ने घोषणा गरेको प्रसङ्ग जोड्दै शर्माले त्यसलाई ‘पदविनाको, उर्दीविनाको र अलि बढी आफ्नै समयको यात्रा’ भनेका छन्।

‘तपाईंको यो स्वतन्त्र अवतारप्रति मेरो सम्मान र बाँकी यात्राका लागि शुभकामना,’ शर्माले गुरुङलाई लेखेका छन्।

प्रकाशित: ६ आश्विन २०८३ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App