७ मंसिर २०८३ सोमबार
image/svg+xml
राजनीति

सीमा विवादबारे मोदी र शाहबिच के भयो सहमति ?

नेपाल र भारतबिच लामो समयदेखि रहँदै आएको सीमा विवादका विषयमा दुवै देशका प्रधानमन्त्रीबिच छलफल भएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमासम्बन्धी बाँकी विषयमा काम अघि बढाउन दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिएका छन्।

भारतको दुई दिने राजकीय भ्रमण सकेर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री शाहको भ्रमणबारे परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको प्रेस नोटमा यसबारे जानकारी दिइएको हो।

परराष्ट्रमन्त्री खनालले जारी गरेको प्रेस नोटअनुसार नेपाल र भारतको सीमामा संयुक्त रूपमा स्थलगत निरीक्षण गर्ने तथा सीमा स्तम्भको मर्मतसम्भार गर्ने काममा भएको प्रगतिबारे दुवै प्रधानमन्त्रीले छलफल गरेका थिए। त्यसपछि उनीहरूले सीमासम्बन्धी बाँकी विषयमा काम अघि बढाउन नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवलाई निर्देशन दिएका हुन्।

नेपाल र भारतबिच सीमा विवाद लामो समयदेखि कायम छ। विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्रमा दुई देशबिच विवाद रहँदै आएको छ। तर, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिमा यी क्षेत्रको नाम लिएर छुट्टै छलफल भएको उल्लेख छैन।

दुवै देशका प्रधानमन्त्रीले सीमा स्तम्भको मर्मतसम्भार र संयुक्त स्थलगत निरीक्षणको काममा भएको प्रगतिलाई उल्लेख गरेका छन्। सीमासम्बन्धी बाँकी विषयमा परराष्ट्र सचिवहरूले काम अघि बढाउने भनिए पनि विवाद समाधानका लागि कुनै निश्चित समयसीमा वा ठोस सहमति सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस विज्ञप्तिको १५औँ बुँदामा पनि सीमा सम्बन्धी विषय उल्लेख छ। उक्त बुँदामा दुवै देशका प्रधानमन्त्रीले सीमासम्बन्धी बाँकी विषयमा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।

यसअघि पनि सीमा विवाद समाधानका लागि विभिन्न कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको थियो। तर, सबै विषय टुंगिन सकेका छैनन्। पछिल्लो भ्रमणमा प्रधानमन्त्री तहबाटै परराष्ट्र सचिवहरूलाई निर्देशन दिइनुले सीमा विवादका बाँकी विषयमा थप छलफल अघि बढाउने बाटो खोलेको छ।

प्रकाशित: ७ मंसिर २०८३ २१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App