२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नेपाल प्रहरीविरुद्ध ३ हजार ७५३ उजुरी : ९९ प्रतिशत फर्छ्यौट

नेपाल प्रहरीविरुद्ध तथा प्रहरीसँग सम्बन्धित विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीमध्ये ९९ प्रतिशत फर्छ्यौट गरिएको छ।

प्रहरीको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यप्रगति विवरणअनुसार विभिन्न स्रोतबाट कुल ३ हजार ७५३ उजुरी प्राप्त भएकोमा ३ हजार ७२२ वटा फर्छ्यौट भएका छन्। ३१ वटा उजुरी भने छानबिनमै रहेका छन्। सबैभन्दा धेरै उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’बाट आएका छन्।

त्यहाँबाट प्राप्त १ हजार ९०५ उजुरीमध्ये सबै फर्छ्यौट भएको प्रहरीले जनाएको छ। टोल फ्री नम्बरबाट प्राप्त १६५ उजुरी पनि सबै फर्छ्यौट भएका छन्। गृह मन्त्रालयबाट आएका ३०४ उजुरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका १५१ उजुरीसमेत शतप्रतिशत फर्छ्यौट भएका छन्।

नेपाल प्रहरी मोबाइल एपमार्फत प्राप्त १३६ उजुरीमध्ये १३३ वटा फर्छ्यौट भएका छन् भने तीनवटा छानबिनमा छन्। त्यस्तै प्रहरी महानिरीक्षकको सचिवालयमा प्राप्त २२८ उजुरीमध्ये २२१ वटा फर्छ्यौट भएका छन्। प्रहरी वेबसाइट, सामाजिक सञ्जाल, टेलिफोन तथा मोबाइलबाट प्राप्त २०८ उजुरीमध्ये सबै फर्छ्यौट भएको विवरणमा उल्लेख छ। प्रहरीले नागरिकबाट प्राप्त उजुरी तथा गुनासोको सम्बोधनलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८३ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App