रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको आज (बिहीबार) बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरी घाइते तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने निर्णय गरेको हो।
उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने उपचार शिविरमा लगिनेछ। गम्भीर घाइतेलाई भने थप उपचारका लागि तत्काल काठमाडौं ल्याउने तयारी गरिएको छ।
घाइतेको अवस्थाका आधारमा उद्धारको प्राथमिकता निर्धारण गरिने प्राधिकरणले जनाएको छ। यस्तै, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुर पठाउन थालिएको छ।
उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन स्वास्थ्य टोली, आवश्यक जनशक्ति र स्रोतसाधनसमेत परिचालन गरिने तयारी गरिएको छ।
प्रकाशित: ११ भाद्र २०८३ ०६:३८ बिहीबार





