उपभोक्ताले ग्यास लुकाएको तथा कालोबजारी गरेको जनगुनासो गरेपछि जिल्लाका सबैजसो डिलरमा प्रशासनले अनुगमन गरेको छ।
हप्तौँअघि कुपन काटेर पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएका उपभोक्ताले ग्यासको समान वितरण नभएको गुनासो गरेपछि प्रशासनले अनुगमन थालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला अनुगमन टोलीले सदरमुकाम गाईघाट, बोक्से, मोतिगडा, देउरी, जलजले, राजाबास र चुहाडेक्षेत्रका सबै डिलरमा अनुगमन थालेको हो।
शनिबार बिहानदेखि अनुगमन थालेको टोलीले दिउँसोसम्म लगाएर डिलर चाहर्दै अनुगमन थालेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार उपभोक्तालाई समान र व्यवस्थित रूपमा ग्यास वितरण सहज बनाउन सबै ग्यास डिलरहरूको अनुगमन थालिएको हो।
एक महिनायता ग्यासको हाहाकार भइरहेको अवस्थामा उपभोक्ताले कुपन काटेर हप्तौँ पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाइरहेको जनगुनासोका आधारमा माथिल्लो निकाय कै निर्देशनमा अनुगमन कार्य थालिएको सिडिओ मंग्रातीले बताए।
प्रशासन, प्रहरी, घरेलु, स्थानीय सरकार र उद्योग वाणिज्य संघ संगठनका प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुगमनमा कुनै पनि डिलरमा कैफियत भने नभेटेको जनाइएको छ। पहिलो दिनको अनुगमनमा कालो बजारी गरेको, ग्यास लुकाएको, तौल घटिबढी भएको या बढी मूल्य लिएकोजस्ता कैफियत केही नभेटिएको मंग्रातीले बताए।
‘उपभोक्तामा ग्यासको हाहाकार भइरहेको जनगुनासो आएको भन्दै हामीलाई माथिबाटै नियमन गर्ने आदेश आए बमोजिम अनुगमन थालेका हौँ’ सिडिओ मंग्रातीले भने ‘सदरमुकाममा मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरू र बजारका डिलरमा अनुगमन कार्य थालेका हौँ।’
प्रशासनले गाईघाटबाहेक कटारी, बेलका, चौदण्डीगढी नगरपालिकाका विभिन्न बजारहरूमा पनि अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। शनिबार नभ्याएका डिलरहरूमा आइतबार पनि टोली खटाएर अनुगमन गर्ने प्रशासनले जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले अनुगमन गरेको प्रशासनको भनाइ छ।
उदयपुरमा झन्डै दर्जन हाराहारी प्रकारका कम्पनीबाट उत्पादित ग्यास बिक्री वितरण हुँदै आएको छ। नारायणी, कोशी, कामाख्या, नोबेल, प्रिमा, सुपर, रिजालको, कन्काई कम्पनीका ग्यास बिक्री वितरण हुने गरेको छ।
प्रकाशित: २४ श्रावण २०८३ ११:३३ आइतबार





