१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय संवादको माग

एआई निर्मित तस्बिर

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले नेपालमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र शान्तिको वातावरण थप सुदृढ बनाउन सबै नेपालीसँग अपिल गरेको छ।

जारी प्रेस विज्ञप्तिमा समाजले नेपाल भगवान् बुद्धको जन्मभूमि, भगवान् शिवको तपोभूमि तथा बहुधार्मिक सहअस्तित्वको अनुपम भूमि भएकाले विश्वलाई शान्ति, करुणा र मानवताको सन्देश दिँदै आएको उल्लेख गरेको छ। यस गौरवपूर्ण पहिचानको संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको समाजको भनाइ छ।

पछिल्लो समय धर्म वा आस्थाका नाममा बढ्दै गएको असहिष्णुता र सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धर्मको मूल उद्देश्य विभाजन नभई प्रेम, करुणा, सत्य, क्षमा र शान्तिको प्रवर्द्धन गर्नु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

समाजले नेपाल सरकारसँग सबै धर्मका धार्मिक अगुवा, विद्वान्, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा राष्ट्रिय संवाद तत्काल सुरु गर्न आग्रह गरेको छ। यस्तै, सनातन, बौद्ध, किराँत, इस्लाम, क्रिश्चियन, सिख, जैनलगायत सबै धर्म र आस्थाका अनुयायीलाई एकअर्काको विश्वासको सम्मान गर्दै सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन आह्वान गरिएको छ।

आवश्यकता परे निष्पक्ष, समावेशी र शान्तिपूर्ण संवादको सहजीकरण तथा समन्वयमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

समाजले सम्पूर्ण नेपालीलाई घृणा र विभाजनभन्दा माथि उठेर प्रेम, सहिष्णुता र मानवताका साझा मूल्यलाई आत्मसात् गर्दै समृद्ध, शान्तिपूर्ण र सभ्य नेपाल निर्माणमा हातेमालो गर्न आग्रह गरेको छ। साथै, 'हामी पहिले नेपाली हौं' भन्ने भावनालाई आत्मसात् गर्दै नेपाललाई शान्ति र अध्यात्मको केन्द्रका रूपमा पुनः स्थापित गर्न सबै पक्षलाई एकजुट हुन आह्वान गरिएको छ।

प्रकाशित: १८ श्रावण २०८३ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App