सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको भवन तथा संरचनामा क्षति पुगेको छ।
पहिरोमा परी मानवीय क्षति भने भएको छैन। बिहीबार राति १ः१५ बजेको समयमा तातोपानीस्थित सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीको उत्तरपश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोका क्रममा ठूला ढुंगा आपसमा ठोक्किँदा उछिट्टिएकाे ढुंगाले बीओपी परिसरमा क्षति पुर्याएकाे हाे।
प्राप्त विवरणअनुसार पहिलो लाइनको ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइनको ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानोमा समेत ६ वटा प्वाल परेका छन्। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ। सशस्त्र प्रहरीका सि.अ.को बाथरुमको भित्तामा समेत ढुंगाले लागेर प्वाल परेको छ।
पहिरोका क्रममा हिमाली ज्याकेटमा समेत ढुंगा लागेर प्वाल परेको छ। बीओपी परिसरमा राखिएको राष्ट्रिय झण्डाको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसैगरी, जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेको तथा मेनगेट अगाडिको सिँढीमा समेत क्षति पुगेको जनाइएको छ। घटनापछि थप क्षतिको विवरण संकलन तथा अवस्थाबारे आवश्यक जानकारी लिने काम भइरहेको छ।
प्रकाशित: २२ श्रावण २०८३ ०९:१७ शुक्रबार





