७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

पर्यावरणीय सीमा असुरक्षित

पृथ्वीलाई स्थिर र सुरक्षित राख्न आवश्यक नौमध्ये सात वटा पर्यावरणीय सीमा असुरक्षित तहमा छन्। वैज्ञानिकका अनुसार समुद्रको तापक्रममा कीर्तिमान, बढ्दो खडेरी, बाढी, डढेलो र अत्यधिक गर्मीका घटनाबिच पृथ्वीको प्राकृतिक प्रणालीमाथिको दबाब निरन्तर बढ्दै गएको र व्यापक तथा दीर्घकालीन परिवर्तनको जोखिम थप गम्भीर बनेको छ।

‘प्लानेटरी हेल्थ चेक–२०२६’ नामक पछिल्लो वैज्ञानिक मूल्यांकनले प्राकृतिक प्रणाली उल्लंघन भएका सात वटै सीमामा अहिलेसम्मकै उच्च स्तरको दबाब सिर्जना भएको देखाएको छ। सन् २०२५ मा समुद्री अम्लीकरण पनि सुरक्षित सीमाभन्दा बाहिर पुगेपछि नौमध्ये सात वटा असुरक्षित तहमा पुगेका हुन्।

मूल्यांकन प्रतिवेदनअनुसार सात वटै प्राकृतिक सीमामा दबाब बढ्दो छ। विश्वका ६० भन्दा बढी वैज्ञानिकको सहभागितामा तयार गरिएको उक्त प्रतिवेदन जर्मनीस्थित पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआइके) अन्तर्गतको ‘प्लानेटरी बाउन्ड्रिज साइन्स ल्याब’ले सोमबार सार्वजनिक गरेको हो।

वैज्ञानिकहरूले पृथ्वीको स्थिरता, लचकता र जीवनधार प्रणाली कायम राख्न यसका प्राकृतिक प्रणालीका प्रमुख प्रक्रियाहरू निश्चित सुरक्षित सीमाभित्र रहनुपर्ने अवधारणालाई ‘प्लानेटरी बाउन्ड्री’ अर्थात् पृथ्वीका सुरक्षित पर्यावरणीय सीमा भनेका छन्। सीमा पार हुँदै जाँदा पृथ्वीको प्राकृतिक प्रणालीमा अस्थिरता तथा दीर्घकालीन रूपमा अपरिवर्तनीय फेरबदलको जोखिम बढ्ने वैज्ञानिक भनाइ छ।

जलवायु परिवर्तन, जैवमण्डलीय अखण्डतामा परिवर्तन, भूप्रणालीमा परिवर्तन, स्वच्छ पानीमा परिवर्तन, जैव–भूरासायनिक प्रवाहमा परिवर्तन, नयाँ मानवनिर्मित पदार्थको फैलावट र समुद्री अम्लीकरण सुरक्षित सीमाभन्दा बाहिर पुगेका छन्। नौमध्ये समताप मण्डलीय ओजोन तहको क्षयीकरण र वायुमण्डलीय एरोसोलको मात्रा भने पछिल्लो दशकमा सुधारोन्मुख देखिएका छन्। तर केही क्षेत्रमा एरोसोलको मात्रा अझै असुरक्षित तहमा रहेको हुन सक्ने वैज्ञानिकले बताएका छन्।

प्रतिवेदनका प्रमुख लेखक तथा पिआइकेका वैज्ञानिक बोरिस साक्सभेस्कीले सुरक्षित सीमाभन्दा बाहिर पुगेका प्रत्येक क्षेत्रमा दबाब बढिरहेको बताए। ‘ठुलो स्तरमा हुने दीर्घकालीन र सम्भावित रूपमा अपरिवर्तनीय फेरबदलको जोखिम बढिरहेको छ। यस्ता समस्यासँग जुध्न हामीलाई अझै गल्ती गर्ने छुट छैन,’ उनले प्रतिवेदन सार्वजनिक गर्दै भने।

 पिआइकेका निर्देशक तथा प्रतिवेदनका सहलेखक जोहान रकस्ट्रोमले पृथ्वीका सबै पर्यावरणीय सीमालाई पुनः सुरक्षित अवस्थामा फर्काउन तत्काल र तीव्र कदम आवश्यक रहेको बताए। ‘हामीसँग समयको सुविधा छैन तर दिशा परिवर्तन गर्न आवश्यक ज्ञान, क्षमता र समाधान हामीसँग छन्,’ उनले भने, ‘सबै प्लानेटरी बाउन्ड्रीलाई सुरक्षित तहमा फर्काएर जीवन र जीविकोपार्जनको रक्षा गर्न अत्यावश्यक छ।’

विषम मौसमी घटनाको जोखिम

पछिल्लो एक वर्षमा विश्वका विभिन्न क्षेत्रमा देखिएका चरम मौसमी घटनाले पृथ्वीको प्राकृतिक प्रणालीमाथिको बढ्दो दबाबलाई थप उजागर गरेका छन्। मानव गतिविधिका कारण बढेको विश्वव्यापी तापक्रमले विभिन्न चरम मौसमी घटनालाई थप तीव्र बनाएको वैज्ञानिक मत छ। त्यसमा पारिस्थितिक प्रणालीको क्षय, पानीको अभाव, भूमिको प्रयोगमा आएको परिवर्तन, मानिसको जोखिममा धकेलिने अवस्था र सामाजिक असुरक्षाले घटनाको प्रभाव थप बढाएको प्रतिवेदनमा उल्लेख छ।

सन् २०२५ मा पाकिस्तानमा आएको मनसुनी बाढीबाट ६९ लाखभन्दा बढी मानिस प्रभावित भएका थिए। त्यही वर्ष विश्वका समुद्रमा सञ्चित तापीय ऊर्जा अहिलेसम्मकै उच्च तहमा पुगेको थियो। असाधारण रूपमा तातेको समुद्री पानीमाथि ‘मेलिसा’ नामक सामुद्रिक आँधी तीव्र गतिमा ‘पाँचौं श्रेणीमा परिणत भएको र त्यसले जमैकामा निकै क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी सन् २०२३ को जनवरीदेखि २०२५ को सेप्टेम्बरसम्म विश्वका करिब ८४.४ प्रतिशत प्रवाल (कोरल) क्षेत्रले प्रवाल फिक्का हुने (कोरल ब्लिचिङ) स्तरको तापीय तनाव बेहोरेका थिए। वैज्ञानिकहरूका अनुसार यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठुलो विश्वव्यापी प्रवाल फिक्का हुने घटना हो। सन् २०२६ मा पश्चिमी युरोपले अहिलेसम्मकै तातो जुन–जुलाई अवधि अनुभव गरेको प्रतिवेदनमा उल्लेख छ।

फ्रान्स, स्पेन, जर्मनी र बेलायतमा खडेरीसँगै युरोपका विभिन्न भाग र क्यानडामा ठुलो डढेलो लागेको थियो। जापान, दक्षिण कोरिया र मध्यपूर्वका केही क्षेत्रमा पनि कीर्तिमानी गर्मी रेकर्ड गरिएको थियो। प्लानेटरी गार्डियन्सकी अध्यक्ष हिन्दोउ ओउमारोउ इब्राहिमले पाकिस्तानदेखि क्यारिबियन, युरोपदेखि समुद्रमुनिका प्रवाल (कोरल) क्षेत्रसम्म देखिएका संकटलाई अलगअलग घटनाका रूपमा मात्र हेर्न नहुने बताइन्।

इब्राहिमका अनुसार विश्वका विभिन्न क्षेत्रका स्थानीय समुदायले वर्षौंदेखि बदलिँदो वर्षा, बढ्दो तापक्रम र समुद्री सतह वृद्धिको प्रत्यक्ष प्रभाव भोगिरहेका छन्। प्लानेटरी हेल्थ चेकले उनीहरूले भोग्दै आएको समस्यालाई वैज्ञानिक तथ्यांकमार्फत देखाएको उनको भनाइ छ।

कोलम्बियाका पूर्वराष्ट्रपति जुआन म्यानुएल सान्तोसले पनि पृथ्वीका वातावरणीय सीमा पुनः सुरक्षित अवस्थामा फर्काउन विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्। ‘नौमध्ये सात सीमा उल्लंघन भएका छन् र कुनै एउटा राष्ट्रले मात्र तिनलाई पुनःस्थापित गर्न सक्दैन। यो सम्पूर्ण विश्वले मिलेर अघि बढाउनुपर्ने शान्ति प्रक्रिया हो,’ उनले भने।

कार्बन सोस्ने प्रणाली पनि दबाबमा

पृथ्वीको जलवायु प्रणालीलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने वनस्पति र माटोले मानव गतिविधिबाट उत्सर्जित कार्बनडाइअक्साइडको ठुलो हिस्सा सोस्ने गर्छन् तर लगातारको गर्मी, खडेरी, डढेलो र पारिस्थितिक प्रणालीको क्षयले प्राकृतिक कार्बन सोस्ने क्षमतालाई कमजोर बनाउन थालेको प्रतिवेदनले जनाएको छ।

केही क्षेत्रमा कार्बन सोस्ने प्रणाली नै ‘कार्बन उत्सर्जन गर्ने स्रोतमा परिणत हुन सक्ने’ जोखिमसमेत देखिएको छ। वैज्ञानिकहरूले पृथ्वीका सुरक्षित सीमामाथि बढ्दो दबाबलाई वातावरणीय समस्याका रूपमा मात्र नभई मानव जीवन, स्वास्थ्य, खाद्य सुरक्षा, पानी, अर्थतन्त्र र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको जोखिमका रूपमा हेरेका छन्। उनीहरूका अनुसार पृथ्वीका विभिन्न प्रणाली एकअर्कासँग जोडिएकाले एउटा क्षेत्रमा देखिएको क्षतिले अर्को क्षेत्रमा समेत जोखिम बढाउन सक्छ।

प्रकाशित: ७ आश्विन २०८३ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App