११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

नेपाल प्रहरीको खोजतलासपछि काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमकाबीच ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ मोटरसाइकल र २३ स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा ती सवारीसाधन फेला पारिएका थिए।

काठमाडौंको काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, वसन्तपुर, कालीमाटी, बौद्ध, गोकर्ण, मूलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायतका स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको बताइएको छ। 

आज बुझाइएका ५० ओटासहित गत साउनयता ३४७ ओटा सवारीसाधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ।

चोरीमा संलग्न ३१ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ २१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App