६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने

फाइल तस्बिर

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

पोखरा विमानस्थल सञ्चालनमा आएको लामो समयपछि पहिलो पटक विदेशी वायुसेवाले यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो। फ्लाई दुबईले बुधबारदेखि दुबई-पोखरा-दुबई रुटमा दैनिक उडान गर्नेछ। कम्पनीले सार्वजनिक गरेको तालिकाअनुसार दुबईबाट आएको विमान साँझ ६:१५ बजे पोखरा अवतरण गर्ने र सोही दिन साँझ ७:१५ बजे दुबई फर्कनेछ। कम्पनीले १६० देखि १७० सिट क्षमताका एयरबस ए३१९ वा ए३२० जहाजमार्फत उडान गर्ने जनाएको छ।

नियमित उडान सुरु भएपछि पोखरा र आसपासका यात्रुले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ। विशेषगरी दुबई हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली कामदार तथा विदेशबाट पोखरा आउने पर्यटकलाई यसबाट सुविधा पुग्ने अपेक्षा गरिएको छ। दुबईलाई ट्रान्जिट बनाएर १२० भन्दा बढी मुलुकमा कनेक्टिङ उडानको सुविधा रहेकाले अमेरिका, क्यानडा, बेलायतलगायत मुलुक जाने यात्रुले समेत पोखराबाट सेवा लिन सक्नेछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले फ्लाई दुबईको नियमित उडानले नेपालको पर्यटन प्रवर्धनसँगै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश जाने बताए। पोखरा विमानस्थलबाट यसअघि सिचुआन एयरलाइन्सले केही समय चार्टर उडान गरेको थियो भने हिमालयन एयरलाइन्सले सातामा एकपटक चार्टर उडान सञ्चालन गरेको थियो। नियमित व्यावसायिक उडान नभएपछि पछिल्लो एक वर्षदेखि पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

सरकारले अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा र भैरहवातर्फ आकर्षित गर्न विभिन्न शुल्कमा छुटसमेत दिएको छ। सरकारले २०८५ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई उडान-अवतरणसँग सम्बन्धित विभिन्न शुल्कमा छुट दिने व्यवस्था गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा पोखरामा अवतरण, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। प्राधिकरणका अनुसार यी छुटबाट एउटा वायुसेवाले प्रतिउडान करिब ७ लाख रुपैयाँसम्मको सुविधा पाउन सक्छ।

अन्तर्राष्ट्रिय यात्रुबाट लिइने ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क र नेपाल पर्यटन बोर्डले लिने १ हजार रुपैयाँको पर्यटन सेवा शुल्कमा समेत पोखरा र भैरहवा विमानस्थलका लागि छुट दिइएको छ। यस्तै यी विमानस्थलमा नेपाल आयल निगमले उपलब्ध गराउने हवाई इन्धनको मूल्यसमेत काठमाडौंको तुलनामा कम छ।

नेपाल आयल निगमका अनुसार काठमाडौंमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर रहेकामा पोखरामा १ हजार २७५ र भैरहवामा १ हजार २६० डलर छ। यसअनुसार काठमाडौंको तुलनामा पोखरामा प्रतिकिलोलिटर इन्धनमा ४२२ डलर कम पर्छ।
सरकारले पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ग्राउन्ड ह्यान्डलिङलगायत सेवामा समेत छुटको व्यवस्था गरेको छ। यी सुविधाले अन्तर्राष्ट्रिय वायुसेवाको सञ्चालन लागत घटाउन सहयोग पुग्ने र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ आश्विन २०८३ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App