६ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु

चाडबाडमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुरक्षित यात्रा अभियान जारी राखेको अवस्थामा समेत कपिलवस्तुमा भने दसैँको अवधिमा दुर्घटनाको संख्यामा कमी आएको छैन।

चाडबाडमा सम्भावित दुर्घटनालाई लक्षित गरी देशभर सुरक्षित यात्रा सञ्चालन गरिए पनि कपिलवस्तुमा दुर्घटनामा गत वर्षको तुलनामा मृत्युको संख्या बढेको छ। घटस्थापनाको दिन असोज २५ देखि कात्तिक ४ गतेसम्मको ११ दिनमा ४ जनाको मृत्यु भएको ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

गत वर्ष २०८२ को दसैँको अवधिमा २ जनाको मात्र मृत्यु भएको थियो। यसवर्षको दसैंमा भएका ३६ वटा सवारी दुर्घटनामा १८ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएका छन्। २०८२ को दसैँको अवधिमा २९ दुर्घटनामा १४ गम्भीर घाइते र ३४ सामान्य घाइते भएका थिए। 

गत वर्षको दसैँको अवधिमा भन्दा यस वर्ष दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या समेत बढेको देखिन्छ। ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले दुर्घटना न्यूनीकरणका लागि सुरक्षित यात्रा सञ्चालनदेखि सचेतना, चेकजाँचसहित विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि गत वर्षको दसैँभन्दा यस वर्ष दुर्घटना बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले सवारीको चाप, सडकको अवस्था, क्षमताभन्दा बढी यात्रु राख्ने, लापसे र मापसे गरी सवारी चलाउने, यान्त्रिक अवस्था लगायतका कारण दुर्घटना हुने गरेको बताए।

साउनदेखि असोजसम्म १९ जनाको मृत्यु
कपिलवस्तुमा २०८३ को साउनदेखि असोजसम्म सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा १३ जनाको मृत्यु भएको थियो। यस वर्ष ३ महिनामा कुल २ सय २ सवारी दुर्घटना भएका छन्। यस वर्ष मृत्यु हुनेमा १४ जना पुरुष, २ महिला र ३ बालक रहेका छन्।

जसमा ९६ जना गम्भीर र २ सय ४७ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा कुल ३ सय ८ सवारीसाधन संलग्न रहेका छन्। गत वर्ष सोही अवधिमा १ सय ८६ दुर्घटना भएका थिए। जसमा ८७ जना गम्भीर र २ सय ९७ जना सामान्य घाइते भएका थिए। २ सय ६२ सवारीसाधन दुर्घटनामा परेका थिए।

प्रकाशित: ६ कार्तिक २०८३ १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App