लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ। ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो।
यसअघि कोइरालो खोला नमुना वन उपभोक्ता समूहले सामुदायिक वनभित्र रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ। सोही क्षेत्रभित्र पर्नेगरी ‘वनस्टे’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो। वनस्टे निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महास्घ नेपाल (फेकोफन) र राष्ट्रिय कृषक समूह महास्घको साझेदारीमा सञ्चालित संरक्षण परियोजनाले सहकार्य गरेको हो।
“वन र सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले वनस्टे सञ्चालनमा ल्याएका हौँ”, उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले भने।
उनका अनुसार पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखानालगायत सेल्फीस्थलसहित आकर्षकस्थल तयार गरिएको छ।
वनस्टे निर्माणपछि यस क्षेत्रको शान्त र रमणीय प्राकृतिक वातावरणमा बस्न चाहने पर्यटकले यहाँ बसोबास गर्दै विशेष आनन्दको अनुभूति गर्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे। हरियाली वन, सिमसार क्षेत्र र स्वच्छ वातावरणले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए।
वनस्टे निर्माणमा परियोजनाबाट आठ लाख छ हजार ८८ र उपभोक्ता समूहबाट तीन लाख ६७ हजार २९५ रुपैयाँ खर्च भएको जनाइएको छ। वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाबाट थप २० लाख बजेट विनियोजन गरी थप दुई कोठे दुई भवन निर्माण गरिने बताए। “यसले पर्यटन विकाससँगै स्थानीयमा आर्थिक गतिविधि बढाउन मद्दत गर्नेछ”, उनले भने।
वनस्टेमा आउने पाहुनालाई थारू समुदायको संस्कृति प्रदर्शन गर्ने तथा परम्परागत खानाका परिकारहरू उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष तेजनारायण चौधरीले बताए। उनले भने, “हामीले पाहुनालाई स्थानीय संस्कृति र स्वादसँग जोड्ने प्रयास गरिरहेका छौँ।”
हाल वनस्टेमा प्रतिव्यक्ति रु आठ सयमा खान र बस्न सुविधा उपलब्ध छ। दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उपभोक्ता समूहले जनाएको छ।
चार वर्षअघिबाट यहाँको सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास भएपछि स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्न थालेको छ। हाल १४ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका कोइरालो खोला नमूना वन उपभोक्ता समितिका अध्यक्ष चौधरीले बताए।
लहान बजारबाट करिब पाँच किलोमिटर उत्तरको चुरेफेदमा अवस्थित हात्तीदह क्षेत्र प्राकृतिक सौन्दर्य, सामुदायिक वन व्यवस्थापन र सांस्कृतिक अनुभवका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
प्रकाशित: ५ चैत्र २०८२ १२:२३ बिहीबार





