रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका-१ मा पर्ने लुकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो।
लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। अहिले सो खण्डमा काठमाडौंबाट छुटेका रात्रिबसहरू फसेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार लुकुम-पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन्।
अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ। यस क्षेत्रमा अहिले फोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ। यद्यपि यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको उपरीक्षक ज्ञवालीले बताए। रासस
प्रकाशित: ७ चैत्र २०८२ १०:३६ शनिबार



-600x400.jpg)

