सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा दुवै समुदायका बासिन्दामा रहेको त्रास हटाउन सुरक्षा संयन्त्रले रणनीति तयार गरेर अघि बढ्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अब फेरि घटना दोहोरिन नदिन र अहिले दुवै समुदायमा रहेको त्रास हटाउन रणनीति बनाएर अघि बढ्ने बताएका हुन्।
‘घटना हुनुमा तत्काल भएको कारण मात्र नभएर आपसमा भएका द्वन्द्वका कारण विकसित भएको हो,’ उनले भने, ‘सानो विषयले ठूलो घटना भयो, यसप्रति प्रशासन सचेत भएर अब दुवै समुदायमा भएको त्रासलाई पनि हटाउन सही विवेक प्रयोग गरेर अघि बढ्नेछ।’ साम्प्रदायिक द्वन्द्वलाई एउटा टुंगोमा पुर्याउन प्रशासनले विवेक सम्मत ढंगले अघि बढेको पनि सुनाए। घटनामा त्रुटि भएका पक्ष छानबिन समितिको प्रतिवेदनमा समेटिने उनले बताए।
देवानगञ्जको कप्तानगञ्जमा आइतबार राति दुई पक्षीय झडप हिंसामा परिणत हुँदा दुई जनाको मृत्यु भएको थियो। बिहीबार मध्यराति सरकार र पीडित परिवारबिच सहमति भएसँगै शुक्रबार मृतकका परिवारले शव जिम्मा लिएर सोही मध्यराति दाहसंस्कार गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ उपस्थित भएर पीडित परिवारसँग सहमति गरेसँगै परिवारले २५ वर्षीय ओमप्रकाश मेहता र २१ वर्षीय जयप्रकाश मेहताको शव जिम्मा लिएर घटना भएको स्थानमै दाहसंस्कार गरिएको हो। दाहसंस्कार गरिएको स्थानमा गाउँपालिकाले २५ लाख रुपैयाँ खर्चेर स्मृति पार्क निर्माण गरिदिने गाउँपालिका अध्यक्ष वेचन मेहताले बताए।
साउन १० गते राति दुई पक्षीय झडप हिंसामा परिणत हुनुको मुख्य कारण असार १४ गते मुस्लिम समुदायको मोहर्रम मेलामा बजारको बिच भागमा झण्डा गाडिएको थियो। ४० दिनपछि आउने चालिमा मेलासम्म त्यो झण्डा राख्ने अडानमा मुस्लिम पक्ष थिए। तर, हिन्दू पक्षले दुई साताअघि त्यही झण्डाको विषयमा विवाद गरे।
झण्डाको विषयमा विवाद गर्ने दुवै पक्षका थिए। मुस्लिम समुदायका केही युवाले पनि निकाल्न हुँदैन भन्ने अडानमा थिए, हिन्दू समुदायकाले निकाल्नुपर्छ भन्नेमा थिए। यो विषय वडा नं. ३ का वडाध्यक्ष अनिल भगतसम्म पुगेको थियो। वडाध्यक्षले नसुनेपछि गाउँपालिका अध्यक्ष वेचन यादवसम्म पुगेको थियो। वडाध्यक्ष भगत यतिबेला सम्पर्कमा छैनन्।
झण्डाको विषयमा सामान्य विवाद भइरहँदा मुस्लिम समुदायका केही युवाले नेपाली कांग्रेसका नेता समेत रहेका जगदीश मेहतासमक्ष हटाइदिन सुझाएका थिए। अन्ततः मुस्लिम पक्षको झण्डा हटाएर हिन्दू पक्षको झण्डा राखियो। आइतबार अर्थात् साउन १० गते मुस्लिम पक्षका युवा बोलबम जाने योजना बनाए।
योजना अनुसार देवानगञ्ज वडा नं. ३ मा मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयलाई लिएर युवाहरूको दुई समूहबिच झडप हुँदा घटना बढेर उग्र रूप लिएको थियो। यस घटनामा बेलैमा वडाध्यक्षले झण्डा विवाद निरूपण गरिदिएको भए र प्रहरीले बेलैमा विवेक पुर्याएको भए अहिलेको परिस्थिति नआउने दुवै पक्षको जिकिर छ।
प्रकाशित: १६ श्रावण २०८३ १९:५० शनिबार


-600x400.jpg)


