नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले देशभरका ६२ जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम २१ दिनभित्र केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयले आर्थिक अनुशासन कायम गर्न कडाइ गर्दै तोकिएको अवधिभित्र रकम दाखिला नगरे कानुन र संस्थाको विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले जिल्ला शाखाहरूलाई पठाएको पत्रमा २१ दिनभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी सोको भौचर वा अन्य प्रमाणसमेत पठाउन निर्देशन दिइएको उल्लेख छ।
केन्द्रीय कार्यालयका अनुसार विगतमा विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट भएका अध्ययन, छानबिन तथा समाज कल्याण परिषद्ले दिएको सुझावका आधारमा यो निर्णय गरिएको हो। ती जिल्ला शाखाहरूमा ब्लड ब्याग, स्वास्थ्य सामग्री, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखि झण्डै २ करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।
महामन्त्री खनालले समयसीमाभित्र रकम दाखिला नगर्ने शाखामाथि प्रचलित ऐन, कानुन तथा नेपाल रेडक्रस सोसाइटीको विधानबमोजिम आवश्यक कारबाही अघि बढाइने स्पष्ट पारेका छन्। नेपाल रेडक्रस सोसाइटीभित्र विगत केही वर्षदेखि आर्थिक अनियमितता, बेरुजु र वित्तीय व्यवस्थापनका विषयमा पटक–पटक प्रश्न उठ्दै आएका छन्।
बक्यौता रकम बुझाउन ताकेता गरिएका शाखामा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ६२ जिल्ला शाखा रहेका छन्। तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, झापा, सुनसरी, रुपन्देही, कैलाली, कञ्चनपुर, धनुषा, पर्सा, बारा, गोरखा, सुर्खेत, बाँकेलगायत अधिकांश जिल्लाका शाखा समावेश छन्।
प्रकाशित: २० श्रावण २०८३ ११:३५ बुधबार





