२० श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

कोशीका आठ जिल्लामा चौध सय सिँचाइ योजना सम्पन्न

कोशी प्रदेशका ५९ स्थानीय तहमा एक हजार चार सय ४० साना सिँचाइ आयोजना निर्माण गरिएका छन्। यी स्थानीय तहका २५ हजार ९३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।

स्विस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार र प्रदेश सरकारको २०/२० प्रतिशत, स्थानीय सरकारको २० प्रतिशत र स्थानीय जल उपभोक्ता संस्थाको १० प्रतिशत लगानीमा आयोजना निर्माण गरिएका हुन्।

आयोजनाबाट ६१ हजार ४० घरका उपभोक्ता लाभान्वित भएको कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाताको तथ्याङ्क छ।

इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गाका यी आयोजना सम्पन्न गर्न ५ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।

यी आयोजना सम्पन्न भई सिँचाइ सुविधा पुग्दा बर्खेधानको उत्पादकत्व ४४ प्रतिशत र बसन्ते मकै ५९ प्रतिशत वृद्धि भएको परामर्शदाताका टिम लिडर गुणराज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सिँचाइ सुविधा पुगेपछि किसानले एकै वर्षभित्र पटक/पटक बाली लगाउन पाएका छन्। ‘बाली सघनता (बाली लगाउने संख्या) ३३ प्रतिशत बढेको देखिएको छ,’ श्रेष्ठले भने, ‘यो भनेको किसानले एउटै जमिनमा पटक-पटक बाली लगाउन पाएका छन्।’

निर्माण सम्पन्न भएको तीन वर्षपछि ९४ प्रतिशत आयोजना सञ्चालनमा छन् भने बाँकी आयोजनामा बाढी, पहिरो, तथा सडक विस्तारका कारण क्षति पुगेको परामर्शदाता निकायले जनाएको छ।

आयोजनाअन्तर्गत इलाम र पाँचथरका १४ स्थानीय तहमा २ अर्ब २५ करोड रुपैयाँका आयोजना सम्पन्न भएका छन्। यो क्षेत्रको १० हजार १ सय ७२ हेक्टरमा सिँचाइ सुविधा पुगेको आयोजनाको फिक्कल क्लस्टरका केशव लामाले जानकारी दिए।

इलामका चुलाचुलीबाहेक ९ स्थानीय तह तथा पाँचथरका फालेलुङ, मिक्लाजुङ, फाल्गुनन्द, याङ्वरक, फालेलुङ गाउँपालिका र फिदिम नगरमा यी आयोजना निर्माण गरिएका छन्। १४ स्थानीय तहका २० हजार २ सय २२ परिवारले सिँचाइ सुविधा पाएको तथ्याङ्कमा उल्लेख छ।

सिँचाइ सुविधा पुगेपछि किसानले राहत पाएका छन्। इलाम फाकफोकथुम-६, एकतप्पाका इन्द्र श्रेष्ठले पानी नहुँदा सुख्खा लागेर बाली उत्पादन नहुने गरेकामा अहिले त्यो समस्या नभएको बताए।

‘घर–गाउँमै कुलो आएपछि हामी खुसी छौं,’ उनले भने, ‘कुलोले धेरैलाई राहत मिलेको छ।’ निर्माण सम्पन्न भइसकेको कुलो स्थानीय जल उपभोक्ता संस्थाले दीर्घकालीन रूपमा मर्मत र संरक्षण गर्ने लामाको भनाइ छ।

अहिले सम्पन्न गरिएका आयोजना दोस्रो चरणअन्तर्गत हुन्। अब विभिन्न पालिकामा तेस्रो चरणका आयोजना सञ्चालन गर्ने तयारी भइरहेको परामर्शदाताले जानकारी दिएका छन्।

प्रकाशित: २० श्रावण २०८३ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App