परीक्षा प्रक्रिया पूरा भइसकेपछि अन्तिम नतिजा प्रकाशनमा ढिलाइ नगर्न सर्वोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले बुधबार मनबहादुर थापालगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्न आदेश दिएको हो।
निवेदकहरूले प्रशासन सेवा, सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका पाँच पदका लागि प्रकाशित विज्ञापन नम्बर १६६७९, १६६८०, १६६८१, १६६८२ र १६६८३ अन्तर्गत लिखित परीक्षा तथा अन्तर्वार्तासमेत सम्पन्न भइसके पनि लोक सेवा आयोगले अन्तिम नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै रिट दायर गरेका थिए।
सर्वोच्चले परीक्षामा सहभागी निवेदकहरूको अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा परीक्षाका सम्पूर्ण प्रक्रिया पूरा भएको देखिएकाले यथाशीघ्र परीक्षाफल प्रकाशन हुनु उनीहरूको वैधानिक अपेक्षा रहेको उल्लेख गरेको छ।
आदेशमा लोक सेवा आयोग ऐन, २०७९ को दफा २९ (१) बमोजिम पदपूर्तिका लागि उम्मेदवार छनोटसम्बन्धी परीक्षाको सम्पूर्ण प्रक्रिया पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ६५ को प्रतिबन्धात्मक वाक्यांशमा समेत यस्तै प्रकृतिको व्यवस्था रहेको सर्वोच्चले जनाएको छ।
परीक्षाका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम नतिजा यथाशीघ्र प्रकाशन गर्नुपर्ने देखिए पनि हालसम्म नतिजा प्रकाशन भएको नदेखिएको भन्दै सर्वोच्चले अन्तिम नतिजा प्रकाशन गर्न नरोक्न अन्तरिम आदेश दिएको हो।
साथै सर्वोच्चले विपक्षी लोक सेवा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
प्रकाशित: ७ आश्विन २०८३ १५:३१ बुधबार




-600x400.jpg)
