काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५ः०० बजेसम्म बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार असोज ८ गते बिहीबारदेखि असोज ११ गते आइतबारसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान सार्वजनिक भइरहेका सन्दर्भमा सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।
बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ।
निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय गरिएको अधिकारीले बताए।
बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
त्यसका लागि नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्ने निर्णय भएको छ।
त्यस्तै, नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वार्टरलाई उद्धारमा खटिने टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न बैठकले निर्देशन दिएको छ।
स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा आवश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।
प्रकाशित: ८ आश्विन २०८३ १३:१३ बिहीबार





