फिलिपिन्सकी टेनिस खेलाडी एलेक्स एला क्यानडाको टोरोन्टोमा जारी डब्लूटीए नेसनल बैंक ओपनको अन्तिम १६ मा प्रवेश गरेकी छन्।
एला अमेरिकी खेलाडी केटी म्याकनलीलाई ६–३, ५–७, ६–४ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुगेकी हुन्। खेलको दोस्रो सेटमा एंकलमा चोट लागेपछि एला मेडिकल टाइमआउट लिन बाध्य भएकी थिइन्। चोटका कारण उनको खेल केही प्रभावित भए पनि उनले पुनरागमन गर्दै खेललाई निर्णायक सेटसम्म पुर्याइन्।
दोस्रो सेट म्याकनलीले ७–५ ले जितेपछि खेल तेस्रो सेटमा पुगेको थियो। निर्णायक सेटमा भने एला सुरुदेखि नै प्रभावशाली देखिइन्। उनले पहिलो गेममै ब्रेक लिँदै २–० को अग्रता बनाइन् र अन्तिमसम्म त्यसलाई कायम राख्दै खेल जितिन्।
यो जितसँगै २१ वर्षीया एला उत्तर अमेरिकाको हार्ड कोर्टमा लगातार सात खेलमा अपराजित रहेकी छन्। विश्व वरीयतामा २०औँ स्थानमा रहेकी एला अब टोरोन्टो ओपनको उपाधि यात्रालाई अघि बढाउने लक्ष्यमा छिन्।
प्रकाशित: २३ श्रावण २०८३ १३:५९ शनिबार





