२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्व स्टार रोज्दैनन् प्रिमियर लिग

ब्राजिलका भिनिसियस जुनियर आर्सनलमा आबद्ध भएका भए, खेलजीवनको उत्कर्ष लयमा हुँदा इङ्लिस प्रिमियर लिग रोज्ने विश्वका सीमित सुपरस्टार बन्ने थिए।

स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भिनिसियसको निर्णय हुँदा आर्सनलले ती ब्राजिलियन फरवार्डलाई आफ्नो बनाउन तयार थियो। २६ वर्षे भिनिसियस पनि सो सम्भावनाप्रति सकारात्मक नै देखिन्थे तर अब उनले बर्नाबेउमा सन् २०३२ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। यसले फेरि एकपटक एउटा रोचक दुखद क्षणको सम्झना गराएको छ। इङ्लिस प्रिमियर क्लबहरूसँग अतुलनीय आर्थिक क्षमता छ। इङ्ल्यान्डको शीर्ष डिभिजनलाई विश्व फुटबलकै सबैभन्दा बलियो घरेलु प्रतियोगिता मानिन्छ। तर पनि बालन डिओरका दाबेदारहरूलाई आकर्षित गर्न भने सधैं धौधौ पर्दै आएको छ। इङ्लिस क्लबले विश्वस्तरीय सेन्टर ब्याक र गोलकिपरहरूलाई अनुबन्धित गरिरहेका छन्।

उनीहरूलाई टोलीमा टिकाइराख्न क्लबलाई खासै समस्या छैन। तर फरवार्डमा भने यो कमी प्रस्टै देखिन्छ। जहाँ सबैभन्दा बढी माग भएका आक्रामक खेलाडी र अट्याकिङ मिडफिल्डरहरू अझै पनि प्रायः अन्यत्रै जाने रोजाइ बनाउँछन्। प्रिमियर लिगले सुपरस्टार बनाउँछ, तर विरलै मात्र भित्र्याउन सक्छ।

सन् १९९२ मा प्रिमियर लिग सुरु भएयता इङ्लिस शीर्ष डिभिजनका क्लबका तीन जना खेलाडीले मात्र पुरुषतर्फ बालन डिओर जितेका छन्। सन् २००१ मा लिभरपुलका माइकल ओवेन, सन् २००८ मा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो र सन् २०२४ मा म्यानचेस्टर सिटीका रोड्री यो सूचीमा छन्। उदीयमान उत्कृष्ट प्रतिभाहरू इङ्ल्यान्ड आएपछि विश्व स्टार बन्छन्। डेनिस बर्गक्याम्प इन्टर मिलानमा निराशाजनक समय बिताएपछि आर्सनल आएका थिए।

पछि प्रिमियर लिगका सबैभन्दा प्रभावकारी खेलाडीहरूमध्ये एक बने। एरिक क्यान्टोनाले फ्रान्स र लिड्समा छँदा नै आफ्नो प्रतिभाको झलक देखाइसकेका थिए। उनी म्यानचेस्टर युनाइटेडको प्रिमियर लिग युगको पहिलो महान् टोलीको पहिचान बने। इटालीको युभेन्ट्समा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि थिएरी हेनरी उत्तर लन्डन गए। उनी पनि पछि आफ्नो पुस्ताकै उत्कृष्ट फरवार्डका रूपमा चिनिए। रोनाल्डो १८ वर्षको उमेरमा स्पोटर्टिङबाट युनाइटेडमा आबद्ध भए। पाँच वर्षपछि उनले बालोन डिओर जिते र त्यसपछि उनी रियाल मड्रिड गए। एर्लिङ हालान्ड सबैभन्दा राम्रो उदाहरण हुन्।

सन् २०२२ मा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्डबाट अनुबन्धित गर्दा उनी युरोपका सबैभन्दा लोभलाग्दा युवा फर्वार्ड भइसकेका थिए तर उनले इङ्ल्यान्डमा पुगेपछि थप उचाइ पाए। भिनिसियसजस्ता खेलाडीलाई अनुबन्धित गर्नु ठूलो कुरा हो। जसले धेरैपटक च्याम्पियन्स लिग जिते र विश्वकै सर्वाधिक चिनिएका फुटबलरहरूमा आफूलाई स्थापित गरिसकेका छन्। यसमा केही अपवादहरू पक्कै छन् तर धेरैजसो ठूला नामहरू आफ्नो खेल जीवनको स्वर्णिम समय सकिएछि मात्र इङ्ल्यान्ड भित्रिन्छन्। भिनिसियससँगको सबैभन्दा नजिकको तुलना आन्द्री सेभचेन्कोसँग गर्न सकिन्छ। सन् २००६ मा २९ वर्षको उमेरमा सेभचेन्को एसी मिलानबाट चेल्सीमा आएका थिए।

उनले दुई वर्षअघि मात्र बालन डिओर जितेका थिए। आफ्नो करियरको उत्कर्ष समयमा प्रिमियर लिगमा आउने सीमित विश्व स्टारमध्ये उनी एक हुन्। रुआड गुलिट र जोर्ज वेहजस्ता अन्य बालन डिओर विजेताहरू पनि चेल्सीमा आबद्ध भए। तर उनीहरू खेलजीवनको उत्तरार्धमा थिए। ३६ वर्षको उमेरमा रोनाल्डो पनि युनाइटेड फर्किए। ज्लाटान इब्राहिमोभिच पनि ३४ वर्षमा युनाइटेड आए भने जर्गेन क्लिन्सम्यानले ३० वर्षको उमेरमा टोटनह्यामसँग सम्झौता गरे।

सिरी ‘ए’ जस्तो छैन खर्च गर्ने शैली

सन् १९८० र १९९० को दशकमा इटालीको सिरी ‘ए’ अत्यधिक धनी मात्र थिएन। विश्व फुटबलका सबैभन्दा ठूला स्टारहरूको निर्विकल्प घर नै थियो। डिएगो म्याराडोनाले बार्सिलोना छाडेर नेपोली रोजे।

ब्राजिलका रोनाल्डो आफ्नो खेलजीवनको उत्कर्षमा बार्सिलोनाबाट इन्टर मिलान पुगे। मिचेल प्लाटिनी, मार्को भान बास्टेन, लोथर म्याथ्युस र जिनेदिन जिदान सबैले आफ्नो खेलजीवनका केही उत्कृष्ट वर्षहरू इटालीमै बिताए। तर प्रिमियर लिगको आर्थिक प्रभुत्वले अर्कै प्रकारको ट्रान्सफर बजार सिर्जना गरेको छ।

इङ्लिस क्लबहरूले ठूलो रकम खर्च गर्छन्। अलेक्जेन्डर इसाक, मोर्गन रोजर्स, एलियट एन्डरसन, मोइसेस काइसेडो, डेक्लान राइस र ज्याक ग्रिलिस सबै जना १०० मिलियन पाउन्डभन्दा बढी रकममा प्रिमियर लिग क्लबहरूबीच नै स्थानान्तरण भएका छन्।

लिभरपुलका फ्लोरियन विर्टजजस्ता अन्य खेलाडीहरू भने ठूलो साख बोकेर प्रिमियर आउँछन्। प्रिमियर लिगको मोडल कुनै एक ठूला स्टार भित्र्याउनुभन्दा पनि कठिन सिजनमा टिकिरहन सक्ने १८ देखि २२ जना उत्कृष्ट खेलाडीहरूको टोली खडा गर्ने विषयमा बढी केन्द्रित छ।

मड्रिड र बार्सिलोनाको आकर्षण

विश्वका लोकप्रिय खेलाडीहरू उपलब्ध हुँदा इङ्लिस क्लबहरूका लागि रियाल मड्रिड र बार्सिलोनासँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। जुड बेलिङ्घम यसको एउटा उदाहरण हुन्। आफ्नो सुधारलाई निरन्तरता दिन बर्मिङ्घम सिटी छाडेर उनी बोरुसिया डर्टमुन्ड पुगेका थिए।

इङ्ल्यान्डका मिडफिल्डर उनी आफ्नो देश फर्किनुको साटो मड्रिड गए। प्रिमियर लिग युगमा एकै खेल नखेली इङ्ल्यान्डको सिनियर पुरुष टोलीको प्रतिनिधित्व गर्ने उनी एक मात्र खेलाडी हुन्। किलियन एमबाप्पे मड्रिड जाने आफ्नो महत्त्वाकांक्षा पूरा गर्नुअघि अन्य धेरै क्लबहरूसँग जोडिएका थिए। नेइमारले सन् २०१३ मा सान्तोष छाड्दा प्रिमियर लिग टोलीहरूको चासोका बाबजुद बार्सिलोना रोजे।

एक कारणमध्ये लियोनेल मेसीसँगै खेल्ने अवसरको आकर्षण पनि एउटा कारण थियो। रोनाल्डोले बालन डिओर जितेको एक वर्षपछि युनाइटेड छाडेर रियाल मड्रिड रोजेका थिए। लुइस सुआरेजले लिभरपुलबाट प्रिमियर लिग गोल्डेन बुट र पिएफए प्लेयर्स’ प्लेयर अफ द इयर जितेको केही महिनापछि बार्सिलोनाको यात्रा तय गरे।

वेल्सका ग्यारेथ बेल र बेल्जियम एडेन हाजार्डले प्रिमियर लिगमै स्थापित भए तर पछि लन्डन छाडेर यी पनि मड्रिड गए। बेल सन् २०१३ मा टोटनह्यामबाट रियलमा आबद्ध भए भने हाजार्डले ६ वर्षपछि चेल्सीबाट सोही कदम चाले। इङ्ल्यान्डकै कप्तान ह्यारी केन एलन शियररको २६० प्रिमियर लिग गोलको रेकर्डभन्दा ४७ गोलले मात्र पछाडि थिए तर उनी पनि टोटेनहम छाडेर बायर्न म्युनिख गए।

के छ स्पेनमा?

स्पेनका व्यावहारिक आकर्षणहरू पनि छन्। मौसम, जीवनशैली र धेरै दक्षिण अमेरिकी खेलाडीहरूका लागि भाषिक तथा सांस्कृतिक निकटता पनि हो। तर यसको आकर्षण अझ गहिरो छ। मड्रिड र बार्सिलोनाको एउटा छुट्टै प्रतिष्ठा छ। च्याम्पियन्स लिगको इतिहास, विश्वव्यापी पहुँच र बालन डिओरजस्ता व्यक्तिगत सम्मानहरूसँगको सामीप्यताले अझ मजबुत बनाएको छ। यी दुवै क्लबहरूले प्रिमियर लिगका रोड्रीमा पनि चासो देखाएका छन्।

हालान्ड भने विपरीत रूपमा उभिएका छन्। सिटीले उनलाई २१ वर्षको उमेरमा डर्टमुन्डबाट अनुबन्धित गर्‍यो। उनी अहिले विश्वका सबैभन्दा खतरनाक नम्बर ९ का रूपमा विकसित भएका छन्। उनी पनि मड्रिड जान सक्छन्। हालान्डका बुबा अल्फीलाई कुनै दिन उनी बर्नाबेउ जान सक्ने सम्भावनाबारे सोधिएको थियो।

‘उनी सिटीमा खुसी छन्, उनको लामो सम्झौता छ। तर जुनसुकै खेलाडी पनि मड्रिडका लागि खेल्न चाहन्छ,’ उनले भनेका थिए। यसको अर्थ हालान्ड तत्कालै सरुवा भइहाल्छन् भन्ने त होइन तर यो भावना निकै महत्त्वपूर्ण छ। इङ्ल्यान्डले सुपरस्टारहरू जन्माउने मञ्च प्रदान गर्न सक्छ भन्ने कुरा बारम्बार सिद्ध गरिसकेको छ तर सफलताको शिखरका खेलाडीलाई प्रिमियर लिग आकार्षण गर्न सक्दैन। त्यहाँ पुगेकालाई पनि टिकाइराख्न प्रिमियर लिग क्लबका लागि कठिन चुनौती बन्दै आएको छ।

प्रकाशित: २३ श्रावण २०८३ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App