आशा गरिएको नेपाली करातेको महिला टिम काता जापानमा जारी २०औं एसियाली खेलकुदमा कांस्य पदकको भिडन्तमा पराजित भएको छ।
नेपाली महिला काता टोलीले एसियाली खेलकुदमा पहिलोपटक प्रतिस्पर्धा गरे पनि सफलता पाउन सकेन। तोयोहाशी जिम्नेसियममा आज सम्पन्न आइची-नागोया २०२६ मा निराशाजनक प्रदर्शनसँगै करातेमा नेपालको आशामा निराशाजनक प्रदर्शन भएको छ। कांस्य पदकको प्रतिस्पर्धामा सानुमाया थिङ, एलिशा रासकोटी मगर र मेघा लिम्बू सम्मिलित नेपाली महिला टिम काताको टोली चाइनिज ताइपेइसँग ५-० ले पराजित हुन पुग्यो।
सम्मिलित नेपाली टोलीले क्वार्टरफाइनलमा भियतनामसँग पनि ५-० को हार बेहोरेको थियो। भियतनाम फाइनलमा पुगेपछि नेपालले रिपाचेजमार्फत कांस्यका लागि प्रतिस्पर्धा पाएको हो। यससँगै कातामा नेपालको चुनौती समाप्त भएको छ।
कातामा दुई र कुमुतेमा नेपालले पाँच तौलसमूहमा प्रतिस्पर्धा गरेको थियो। यसअघि महिला एकल काता सानुमाया थिङले प्रतिस्पर्धा गरेकी थिइन्। उक्त स्पर्धामा सानुमाया दक्षिण कोरियाकी चोइ हाइउनसँग ५-० कै नतिजामा पराजित भएकी थिइन्। गत संस्करण ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ, मीनबहादुर तामाङ र राकेश मानन्धर पनि कांस्य पदकको प्रतिस्पर्धामा चुकेका थिए। नेपाली कराते टोली चौथोपल्ट पदक भिडन्तमा असफल भएको छ। अब करातेमा एक मात्र नेपाली खेलाडीको चुनौती बाँकी छ। पुरुष ८४ केजीमाथि तौलसमूहमा तेञ्जिङ शेर्पाले बुधबार प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: ६ आश्विन २०८३ ११:५० मंगलबार





