इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्कीको क्लब ट्राब्जोनस्पोरमा आबद्ध भएका छन्।
क्लबले बिहीबार सलाहसँग दुई वर्षको सम्झौता भएको आधिकारिक घोषणा गरेको हो। लिभरपुल छाडेपछि स्वतन्त्र खेलाडी बनेका ३४ वर्षीय सलाहले ट्राब्जोनस्पोरसँग सम्झौता गरेका हुन्। उनी बुधबार टर्कीको इस्तानबुल पुगेका थिए, जहाँ उनलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक विमानस्थलमा पुगेका थिए।
बिहीबार सलाहले ट्राब्जोनस्पोरसँग सम्झौतामा हस्ताक्षर गरे। त्यसपछि उनलाई क्लबको घरेलु मैदान पापारा पार्कमा समर्थकमाझ सार्वजनिक गरिएको थियो। उनले नयाँ टोलीका खेलाडीसँग पहिलोपटक प्रशिक्षणसमेत गरेका छन्। समर्थकमाझ प्रस्तुत हुँदै सलाहले टर्कीमा आफूले पाएको स्वागतप्रति खुसी व्यक्त गरे।
‘पछिल्ला केही दिन मेरो जीवनमै कहिल्यै नपाएको अनुभव भएको छ। यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहन्छु। तपाईंहरूले मलाई दिएको माया मैले अपेक्षा गरेको थिइनँ। म यहाँ जित्न आएको हुँ,’ उनले भने। सलाहले लिभरपुलमा आफ्नो करियरको उत्कृष्ट समय बिताएका थिए। उनले क्लबबाट दुई पटक इंग्लिस लिगको उपाधि तथा युरोपेली च्याम्पियन्स लिगसहित आठ प्रमुख उपाधि जितेका छन्। लिभरपुलका लागि ४४२ खेल खेलेका सलाहले २५७ गोल गरेका थिए। उनी क्लबको इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एकका रूपमा स्थापित भएका छन्।
लिभरपुलसँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि गत मार्चमा उनले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए। पछिल्लो सिजन भने उनको प्रदर्शन अपेक्षाकृत कमजोर रह्यो। उनले लिभरपुलका लागि १२ गोल मात्र गरेका थिए भने तत्कालीन प्रशिक्षक अर्ने स्लोटसँग उनको सार्वजनिक रूपमा मतभेदसमेत भएको थियो।
ट्राब्जोनस्पोर टर्कीको सात पटकको लिग च्याम्पियन क्लब हो। गत सिजन क्लबले लिगमा तेस्रो स्थान हासिल गरेको थियो। सलाहको आगमनसँगै ट्राब्जोनस्पोरले आगामी सिजन उपाधि दौडमा आफूलाई थप बलियो बनाउने लक्ष्य राखेको छ।
प्रकाशित: २२ श्रावण २०८३ ०७:२८ शुक्रबार





