ब्राजिलियन विंगर भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौताअनुसार उनी सन् २०३२ सम्म स्पेनिस क्लबमै रहनेछन्। २६ वर्षीय भिनिसियसको यसअघिको सम्झौता अबको १२ महिनापछि सकिँदै थियो। पछिल्लो समय इंग्लिस क्लब आर्सनलले उनलाई भित्र्याउन चासो देखाएको थियो।
तर रियल मड्रिडले बिहीबार भिनिसियससँग सम्झौता नवीकरण भएको घोषणा गरेको हो। नयाँ सम्झौता सन् २०३२ जुन ३० सम्म कायम रहने क्लबले जनाएको छ। सम्झौता नवीकरणपछि भिनिसियसले सामाजिक सञ्जालमा लेखेका छन्, 'सान्टियागो बर्नाबेउमा आठ वर्ष निकै छोटो समय हो।अब थप ६ वर्ष र त्यसपछि सधैंका लागि।’
रियल मड्रिडले भिनिसियसलाई क्लबको इतिहासकै सफलमध्ये एक अवधिमा महत्वपूर्ण खेलाडीका रूपमा प्रशंसा गरेको छ।क्लबले जारी गरेको विज्ञप्तिमा भिनिसियस ‘हाम्रो इतिहासकै सबैभन्दा सफल अवधिमध्ये एकका महत्वपूर्ण खेलाडी’ बनेको उल्लेख गरेको छ।
प्रकाशित: २२ श्रावण २०८३ ०६:४० शुक्रबार





