७ आश्विन २०८३ बुधबार
image/svg+xml
प्रविधि

इनमार्क सञ्चालनमा: कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने

कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा आएको छ।

बुधबार आयोजित एक कार्यक्रममा क्रिएटर इकोनोमी र डिजिटल मार्केटिङलाई व्यवस्थित गर्ने ‘अल–इन–वन अपरेटिङ सिस्टम’का रूपमा प्लेटफर्म सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार क्रिएटर र ब्रान्डबीचको सहकार्यमा हुने म्यानुअल प्रक्रियालाई एआई र डेटा विश्लेषणमार्फत सहज बनाउने उद्देश्यले इनमार्क विकास गरिएको हो। क्रिएटरहरूले स्पोन्सरसिपका लागि विभिन्न ब्रान्डसँग व्यक्तिगत रूपमा सम्पर्क गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्लेटफर्मले उपयुक्त ब्रान्डसँग क्रिएटरलाई जोड्ने जनाएको छ।

प्लेटफर्ममा आबद्ध भएपछि एआईले क्रिएटरको कन्टेन्ट शैली, विगतका क्याम्पेन र दर्शकको विश्लेषण गरी उपयुक्त ब्रान्डसमक्ष प्रोफाइल पुर्‍याउने कम्पनीको दाबी छ। यसका साथै स्क्रिप्ट लेखन, कन्टेन्ट अप्टिमाइजेसन, एसईओ र रिपोर्टिङमा समेत एआईको प्रयोग गर्न सकिनेछ।

ब्रान्ड तथा मार्केटिङ एजेन्सीका लागि पनि प्लेटफर्म उपयोगी हुने कम्पनीले जनाएको छ। ब्रान्डले भिडियो वा भ्वाइस नोटमार्फत दिएको जानकारीका आधारमा एआईले क्याम्पेन ब्रिफ र ह्यासट्याग तयार गर्ने तथा ‘एआई फिट स्कोर’का आधारमा बजेट र लक्षित दर्शकसँग मेल खाने क्रिएटर सिफारिस गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, धेरै क्रिएटरले तयार पारेका सामग्री निर्धारित ब्रिफ तथा स्क्रिप्टअनुसार भए–नभएको एआईमार्फत एकैपटक परीक्षण गर्न सकिने कम्पनीले जनाएको छ। यसबाट विज्ञापन लक्षित दर्शकसम्म पुर्‍याउन र लगानीको प्रतिफल बढाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार क्रिएटर र ब्रान्डले सामाजिक सञ्जाल अकाउन्टमार्फत ‘वान–क्लिक’ लगइन गरी इनमार्कको सेवा प्रयोग गर्न सक्नेछन्। प्लेटफर्ममा मूल्य निर्धारण, सम्झौताका सर्त तथा कन्टेन्टको बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्थासमेत समेटिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०८३ २१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App