६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

खरानीबाट उठ्यो भाटभटेनी : १२ मध्ये १० स्टोर पुन: सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर पुन: सञ्चालनमा आएको छ। सोमबार विशेष कार्यक्रमबिच भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको पुन: उद्घाटन गरेका हुन्। गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो। 

तीमध्ये टंगालसहित १० वटा स्टोर पुन: सञ्चालनमा आइसकेका छन्। दमक र हेटौंडाका स्टोरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको र ती पनि छिट्टै सञ्चालनमा ल्याउने उनले बताए। २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा टंगालस्थित स्टोरमा आगजनी र तोडफोड हुँदा संरचना तथा त्यहाँ रहेका सामान पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। यही स्टोरबाट करिब ४२ वर्षअघि व्यवसाय सुरु गरेका गुरुङले पुनर्निर्माणका क्रममा आफ्नो स्वास्थ्यमा समेत असर परेको बताए।

‘मैले आफ्नो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको छु’, गुरुङले भने, ‘पुनर्निर्माणका क्रममा मेरो शरीरको हेमोग्लोबिन घटेर ४ प्वाइन्टमा झरेको थियो। अहिले सुधार भएको छ। अझै मैले हिम्मत हारेको छैन। हामी एउटै अठोटमा अघि बढ्यौं– खरानीबाट फेरि उठ्नेछौं।’ आफ्नो व्यवसाय खरानीमा परिणत भए पनि कर्मचारीको रोजगारीलाई प्राथमिकता दिएको गुरुङले बताए। हजारौं कर्मचारीको रोजगारी र उनीहरूका परिवारको जीविकासँग व्यवसाय जोडिएकाले कठिन अवस्थामा पनि कर्मचारीको तलब नरोकिएको उनले बताए।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको छ। आन्दोलनपछि पुनर्निर्माणका क्रममा कर्मचारीलाई रोजगारीबाट अलग नगरिएको र अघिल्लो वर्षको दसैं बोनससमेत कटौती नगरिएको उनले जानकारी दिए।

पौडेलका अनुसार पुनर्निर्माणमा संरचनागत काम, उपकरण व्यवस्थापन र आन्तरिक निर्माणलाई प्राथमिकता दिइएको छ। दीर्घकालीन सञ्चालन र सेवा गुणस्तरलाई समेत ध्यानमा राखेर पुनर्निर्माण गरिएको उनले बताए। पूर्ण रूपमा क्षतिग्रस्त कोटेश्वर स्टोर पाँच महिनामै पुन: सञ्चालनमा ल्याइएको र त्यसपछि अन्य स्टोर क्रमश: सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

टंगाल स्टोर पुन: सञ्चालनमा आएको पहिलो दिन नै सामान खरिद गर्ने ग्राहकको बाक्लो भिड लागेको थियो। स्थानीय तथा नियमित ग्राहकले एक वर्षसम्म स्टोर बन्द हुँदा आवश्यक सामान खरिद गर्न टाढा जानुपरेको बताएका थिए।

गुरुङले भाटभटेनीलाई व्यक्तिगत सम्पत्तिका रूपमा मात्र नहेरी देशको आर्थिक गतिविधिसँग जोडिएको व्यवसायका रूपमा लिनुपर्ने बताए। ‘यो मेरो मात्र सम्पत्ति होइन, नेपालको सम्पत्ति हो। यहाँ हजारौं नेपालीले रोजगारी पाएका छन्,’ उनले भने। उनले व्यवसाय सुरु गर्दाको अवस्था स्मरण गर्दै करिब ४२ वर्षअघि १२० वर्गफिटको भाडाको कोठाबाट श्रीमतीको गहना बिक्री गरी ३५ हजार रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेको बताए। बैंकको जागिर छाडेर बचत तथा ऋणको सहायताबाट सुरु गरेको व्यवसाय अहिले देशका विभिन्न प्रमुख सहरमा विस्तार भएको उनले बताए।

भाटभटेनीका काठमाडौं उपत्यकाबाहिर पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, धरान, विराटनगर र इटहरीलगायत स्थानमा स्टोर सञ्चालनमा छन्। गुरुङले निजी क्षेत्रलाई सुरक्षित वातावरणमा व्यवसाय गर्ने अवस्था बनाउन सरकारको भूमिका महत्वपूर्ण हुने बताए। ‘देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ’, उनले भने, ‘मेरो देशमा अब कहिल्यै यस्तो घटना नहोस्। सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ।’

उनले पुनर्निर्माणमा खटिएका इन्जिनियर, कर्मचारी, सहयोगी संस्था, सञ्चारमाध्यम तथा स्वदेश–विदेशबाट सहयोग र हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिएका छन्। टंगाल स्टोर पुन: सञ्चालनसँगै कम्पनीले उपभोक्तालाई आधुनिक सुविधा र गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने जनाएको छ। 

प्रकाशित: ६ आश्विन २०८३ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App