२४ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

अर्को दलले गर्‍यो भने सत्य पनि झूटो मान्छ!

मुक्तक

१) मुक्तक

ढाँटछल केही छैन बहाना न्यून छन् 

अभावमै हुर्किएर चाहना न्यून छन्

आफ्नै पेसा र कर्ममा व्यस्त भै

मनोरञ्जनका रमाना न्यून छन्।

२) मुक्तक

अर्को  दलले गर्‍यो भने सत्य पनि झूटो मान्छ

आफ्नो दलले गर्दाचाहिँ सबै गलत सत्य ठान्छ

राजनीतिज्ञ सबै नेता पिपलपाते जस्तो लाग्ने

मुख्य नेता मर्न गए दौडिएर त्यतै जान्छ।

३) मुक्तक

हिउँको पीडा कति हुन्छ खगरलाई थाहा हुन्छ

पानीको पिर कति हुन्छ बगरलाई थाहा हुन्छ

मेरा पीडा बगर खगर दुईकै भन्दा बढी हुन्छन्

भोगिएका पीडाहरू सगरलाई थाहा हुन्छ।

४) मुक्तक

खाने वस्तु पाए पनि खानुपर्छ घिच्नु हुन्न

आफैं कानुन बनाएर आफैं त्यसलाई मिच्नु हुन्न

गुण लगाउन नसके नि बैगुनबाट बच्नैपर्छ

जुत्ता बनी बोक्नेलाई टोपी बनी थिच्नु हुन्न।

५) मुक्तक

सलाईको सोझो काँटी शिर जलेर मर्नुपर्छ

फलामको नि सोझै काँटी शिरमा ठक्कर खाने गर्छ

सोझाको शिर प्रयोग गरी नाफा लुट्छन् बाङ्गाहरू

सोझो मजदुर शिरकै भरमा बाङ्गालाई सेवा गर्छ।

६) मुक्तक

नामर्द बाँच्छन् अर्काको आशले

कायर बचेका कर्मको त्रासले

सबैका बाँच्ने तरिका नै फरक

मर्दले बाँच्ने आफ्नै प्रयासले।

७) मुक्तक

कहिले सुन्दर मुहारले तृप्त बनायौ

कहिले मीठो आहारले तृप्त बनायौ

अब म सदाका लागि तृप्त भैसकेँ

किनकि वचनको प्रहारले तृप्त बनायौ।

८) मुक्तक

बालक वृद्धभन्दा पनि राम्रो रैछ बैँस

सबैलाई अझ राम्रो आराम अनि ऐस

यीभन्दा नि ठूलो के हो भनी सोध्ने भए 

ढुक्कसँग भनिदिन्छु सबैलाई पैसा।

९) मुक्तक

कसैलाई गर्व हुने गोरो छाला भएकोमा

कसैलाई ठूलो पेट र पुक्क गाला भएकोमा

सफलताको शिखर चढी कर्मवीर मान्छेहरू

गर्व गर्छन् शिरमा अबिर काँधमा माला भएकोमा।

१०) मुक्तक

जब मेरो जीवनमा उनको सवार भयो

केही समय जीवनमा बहार भयो

एक अर्काको खुसी खोसाखोस भएपछि

एकलाई अर्काको आँसु उपचार भयो।

प्रकाशित: २४ श्रावण २०८३ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App