नेपाल निर्माण व्यवसायी महासंघ, कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट मानव बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भएको अधिवेशनमा अध्यक्ष मानव बमको सहजीकरणमा सर्वसम्मत रूपमा प्रदेश कार्यसमिति चयन भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निकोलस पाण्डेले अधिवेशनको उद्घाटन गरेको साधारण सभामा १० जिल्लाका निर्माण व्यवसायीहरू सहभागी थिए । बमको नेतृत्वमा उपाध्यक्ष तुलाराज शाही, सचिव नवीन कुमार थापा, कोषाध्यक्ष मनोज कुमार सिंह, सहकोषाध्यक्ष शिमिला खड्का, सदस्यहरूमा मनबहादुर चँदरा, ठानबहादुर भण्डारी, रतनबहादुर शाही, खड्कबहादुर शाही र पिछडिएको क्षेत्रबाट ध्वजबहादुर शाही चयन भएका छन् ।
महासंघको अध्यक्ष भएका बम पूर्व कर्णाली प्रदेश महासचिव तथा बसना निर्माण सेवाका निर्देशक हुन् । लामो समयदेखि निर्माण व्यवसाय र संगठनमा सक्रिय बमलाई अनुभवी, समन्वयकारी तथा व्यवसायीहरूको साझा आवाजका रूपमा हेरिएको छ ।
अध्यक्ष बमले आफू निर्माण व्यवसायीहरूको हितमा साझा समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित: १९ श्रावण २०८३ २०:०० मंगलबार





