१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

काठमाडौंको नयाँ परिचय बन्दै ‘फल्चा’

काठमाडौंलाई राजधानी सहर, पशुपतिनाथ मन्दिर भएको ठाउँ, मन्दिरै मन्दिरको सहर आदिले चिनिन्छ। तर पछिल्लो पटक राजधानी काठमाडौंलाई अर्को नामले चिनिन थालेको छ, त्यो हो ‘फल्चा’ को सहर।

काठमाडौं महानगरपालिकाले हराउँदै गएका ‘फल्चा’ हरूको पुनर्जीवन दिन थालेसँगै अहिले काठमाडौंका ठाउँठाउँमा भेटिन्छन् फल्चाहरू। बस बिसौनीलाई पनि नेवारी सभ्यता झल्किने फल्चामा रूपान्तरण गर्दै महानगरले सार्वजनिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकैसाथ अघि बढाइरहेको छ।

महानगरले आर्थिक वर्ष २०७९/८० देखि बस बिसौनीलाई परम्परागत नेवारी शैलीका फल्चामा रूपान्तरण गर्ने योजना अघि सारेको थियो। काठमाडौं महानगरपालिकाका अनुसार महानगरका विभिन्न ठाउँहरूमा गरी अहिलेसम्म ६४ वटा फल्चाहरू निर्माण सम्पन्न भइसकेका छन्। साथै विभिन्न ठाउँहरूमा थप एक दर्जन फल्चाहरू निर्माणाधीन छन्।

अहिले महानगरले निर्माण गरिरहेका फल्चाहरू सामान्य बस बिसौनी मात्रै बनेका छैनन्। बरु आकर्षण पनि थपेका छन्, वरपरको वातावरणको। किनकि फल्चाहरू इँटा, काठ, झिँगटी र परम्परागत नेवारी बुट्टाले सजिएका छन्। यही कारण यी संरचनाले यात्रुलाई घाम-पानीबाट जोगाउने मात्र होइन, काठमाडौंको मौलिक पहिचान पनि झल्काइरहेका छन्।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिका अनुसार महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि बस बिसौनीलाई परम्परागत शैलीका फल्चामा रूपान्तरण गर्ने नीति लागू गर्‍यो। महानगरपालिकाले जनाए अनुसार कलंकीमा २, बबरमहलमा १, बानेश्वरमा २, सिभिल अस्पताल क्षेत्रमा २, तीनकुनेमा २, कोटेश्वरमा ३, बालकुमारीमा १, सिनामंगलमा १, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा १, चाबहिलमा ३, बसुन्धरामा १, विशालनगरमा १, बालुवाटारमा १, रत्नपार्कमा १, राष्ट्रिय सभागृहमा १, नेपाल एयरलाइन्स निगम अगाडि २ लगायतका ठाउँहरूमा फल्चाहरू निर्माण भएका छन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर महानगरले निर्माण गरिरहेका फल्चामा परम्परागत स्वरूपलाई आधुनिक आवश्यकतासँग जोडिएको बताउँछन्। कतै बस बिसौनीको रूपमा प्रयोग गरिएको भने कतै जात्रा र सांस्कृतिक गतिविधिका लागि छुट्टै फल्चा तथा डबली निर्माण गरिएको उनी सुनाउँछन्।

यस्ता ऐतिहासिक फल्चाहरू वि.सं. १९९० सालको भूकम्पपछि हराउन थालेका थिए। ९० सालको महाभूकम्पले काठमाडौं उपत्यकाका धेरै फल्चा ध्वस्त भएका थिए। त्यसपछि सडक विस्तार, निजी निर्माण र सहरीकरणले बाँकी रहेका धेरै फल्चा हराए पनि। कतिपय स्थानमा फल्चाको अस्तित्वसमेत लोप भयो। यही क्रममा जय बागेश्वरी नवाली टोलको ऐतिहासिक ‘ग्वल: दे फल्चा’ पनि हराएको थियो। अहिले काठमाडौं महानगरपालिका-८ ले पुराना अभिलेख र स्थानीयको स्मृतिका आधारमा त्यसको पुनरुत्थान गरेको छ।

महानगरवासी बुढापाका महानगरपालिकाको यो नीतिप्रति खुसी व्यक्त गर्छन्। ‘काठमाडौंको पुरानो बस्तीमा कुनै समय यस्तो टोल कमै हुन्थ्यो, जहाँ एउटा फल्चा नहोस्,’ एकजना महानगरवासी वृद्ध रामवीर डंगोल थप्छन्, ‘बिहान-बेलुका ज्येष्ठ नागरिक गफिने, यात्रु विश्राम गर्ने, दाफा भजन गुञ्जिने, जात्राको तयारी हुने र सामाजिक छलफल चल्ने साझा चौतारी हो फल्चा भनेको।’ समयसँगै सडक विस्तार, सहरीकरण र भूकम्पका कारण यी संरचना एकपछि अर्को हराउँदै गएको उनको गहिरो चिन्ता थियो। अहिले त्यही मौलिक सम्पदालाई काठमाडौं महानगरपालिकाले नयाँ स्वरूपमा पुनर्जीवित गरिरहेकोमा उनी खुसी साट्छन्।

यही कारण अहिले काठमाडौं महानगरपालिकाको परिचय फल्चा बन्दै गएको उनको दाबी छ। काठमाडौंको पहिचान केवल दरबार, मन्दिर र स्तूपले मात्र होइन, टोल-टोलमा बनेका फल्चाहरूले पनि बोकेको उनको बुझाइ छ। आधुनिक सहर विस्तारसँगै हराउँदै गएका यिनै फल्चालाई अहिले बनाइरहेकाले उनी खुःशी छन्। 

विशेषज्ञहरूका अनुसार फल्चाले काठमाडौंको मौलिक पहिचान जोगाउँछ, सार्वजनिक खुला विश्रामस्थल उपलब्ध गराउँछ, वृद्धवृद्धा तथा यात्रुलाई सहजता दिन्छ, टोलको सामाजिक सम्बन्ध मजबुत बनाउँछ, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ, आधुनिक बस बिसौनीलाई स्थानीय पहिचानसँग जोड्छ।

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिकी प्रमुख कुमारी राईका अनुसार एउटा फल्चा निर्माणमा स्थान, डिजाइन र प्रयोग हुने काठका आधारमा करिब ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। त्यसमा ठूलो सानो क्षेत्रफलका आधारमा घटीबढी हुन सक्छ।

फल्चाको इतिहास सयौं वर्ष पुरानो
फल्चाको इतिहास काठमाडौं उपत्यकाको सभ्यता जत्तिकै पुरानो मानिन्छ। इतिहासविद्हरूका अनुसार फल्चाको परम्परा लिच्छवीकाल (करिब पाँचौँ-आठौँ शताब्दी) देखि सुरु भएको मानिन्छ। मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरभर सयौं फल्चा निर्माण गरिएका थिए। प्रत्येक टोलमा एउटा वा बढी फल्चा हुने चलन थियो। ९० सालको भूकम्प र त्यसपछिको सहरी विस्तारसँगै धेरै फल्चा भत्किए वा हराए। २०७२ सालको भूकम्पले पनि धेरै पुराना फल्चामा क्षति पुर्‍यायो।

इतिहासकारहरूका अनुसार लिच्छवीकालदेखि सुरु भएको फल्चा मल्लकालमा व्यापक विकास भयो। काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश टोलमा यात्रु र स्थानीय समुदायका लागि फल्चा बनाइन्थ्यो। फल्चा केवल विश्रामस्थल थिएन, यसले समुदायलाई जोड्ने साझा सार्वजनिक स्थानको भूमिका खेल्थ्यो। यहाँ दाफा भजन हुन्थ्यो, जात्राको तयारी गरिन्थ्यो, स्थानीय निर्णय लिइन्थ्यो र सामाजिक सम्बन्ध मजबुत बन्थे।

किन आवश्यक छन् फल्चा ?
सहरी योजनाविद् र सम्पदा संरक्षणकर्मीका अनुसार फल्चाले केवल यात्रुलाई विश्राम दिने काम मात्र गर्दैन। यसले सहरलाई सांस्कृतिक पहिचान दिन्छ, सार्वजनिक खुला स्थानको अभाव कम गर्छ, ज्येष्ठ नागरिकका लागि सहज बैठकस्थल उपलब्ध गराउँछ र पर्यटन आकर्षणसमेत बढाउँछ।

आज कंक्रिटका अग्ला भवनबिच परम्परागत फल्चा देख्दा काठमाडौंको ऐतिहासिक सभ्यता अझै जीवित रहेको अनुभूति हुन्छ। त्यसैले महानगरको यो अभियानलाई केवल पूर्वाधार निर्माण होइन, सांस्कृतिक पुनर्जागरणको प्रयासका रूपमा पनि हेरिएको छ।

सहर विकासका नाममा हराउँदै गएको मौलिक पहिचानलाई जोगाउने प्रयास सफल भयो भने काठमाडौं फेरि एकपटक आफ्नो पुरानो सांस्कृतिक स्वरूपसँग जोडिने विश्वास गरिएको छ। फल्चा केवल इँटा र काठले बनेको संरचना होइन, काठमाडौंको सामुदायिक जीवन, संस्कृति र सभ्यताको जीवित इतिहास हो।

काठमाडौं महानगरपालिकाले पछिल्ला केही वर्षदेखि परम्परागत नेवारी वास्तुकलामा आधारित फल्चा (पाटी) निर्माण तथा पुनर्निर्माणलाई आफ्नो सांस्कृतिक सम्पदा संरक्षण कार्यक्रमको प्राथमिकतामा राखेको हो।

फल्चा भनेको के हो ?
नेपाल भाषाको फल्चाको अर्थ परम्परागत सार्वजनिक विश्रामस्थल हो। यसलाई नेपालीमा पाटी वा चौतारीसँग मिल्दोजुल्दो संरचना मानिन्छ। यात्रु तथा बटुवालाई विश्राम दिनु, पानी, घाम या वर्षाबाट ओत, गाउँ-टोलको बैठक स्थल, दाफा भजन तथा सांस्कृतिक गतिविधि गर्न, धार्मिक पर्व र जात्राका तयारी बैठक गर्न, स्थानीय विवाद समाधान तथा सामाजिक छलफल गर्न यसको प्रयोग गरिन्छ।

काठमाडौं महानगरले बनाइरहेका नयाँ फल्चामा परम्परागत शैलीलाई आधुनिक सुविधासँग जोडिएको छ। नेवारी शैलीको इँटा र काठको डिजाइन, ढलानयुक्त छाना, बस्ने चौतारा, वर्षा र घामबाट संरक्षण, बस बिसौनीको रूपमा समेत प्रयोग, केही स्थानमा र्‍याम्प तथा अपाङ्गमैत्री पहुँच महानगरपालिकाले अहिले बनाइरहेका फल्चाहरूका विशेषताहरू हुन्।

प्रकाशित: १९ श्रावण २०८३ २०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App