इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।
च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्ट अनुसार खामेनी ‘अत्यन्त गम्भीर अवस्था’ मा रहेको अफवाह शासनका उच्चतम तहमा व्यापक रूपमा फैलिरहेको छ। च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसूद पेजेश्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ।
जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले भनेको छ, 'हामी चाँडै उहाँको शहादतको समाचार सुनेर अचम्मित हुने छैनौँ।'
खामेनीले सन् २०२६ को फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलद्वारा चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको मृत्युपछि तत्काल सर्वोच्च नेताको पद सम्हालेका थिए।
पदभार ग्रहण गरेदेखि उनी कुनै सार्वजनिक कार्यक्रममा उपस्थिति भएका छैनन्। सर्वोच्च नेता मोज्तावा खामेनीले लिखित वक्तव्यमार्फत प्रशासनिक कामलाई सञ्चालन गर्दै आएका छन्।
इरान अमेरिकाविरुद्ध द्वन्द्वमा रहेको बेला उनको कम उपस्थितिले अन्य उच्च अधिकारीहरूसँगको उनको सम्बन्धबारे अड्कलबाजीलाई जन्म दिएको छ।
रिपोर्ट अनुसार उनी संयुक्त आक्रमणको प्रारम्भमा नै घाइते भएका थिए र सम्भवतः उनको अनुहारमा लागेको चोटका कारण उनको अनुहार बिग्रिएको र उनलाई लुकेर बस्न बाध्य बनाएको थियो। यसबाहेक लक्ष्यमा पर्ने जोखिमबाट बच्न उच्च अधिकारीहरूसँग बिचौलियाहरूको ढिलो सञ्जालमार्फत शासन सञ्चालन गर्न उनलाई बाध्य बनाएको अड्कलबाजीहरू गरिने गरिएको छ।
उनको स्थितिको बारेमा राष्ट्रपति मसूद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तरक्रिया अहिले ‘निकै कठिन’ छ भनी स्वीकारेका थिए। यसले उनको स्वास्थ्यबारे गरिएका अटकलबाजीमा थप मलजल मिलेको छ।
अन्तर्राष्ट्रिय र क्षेत्रीय रिपोर्टहरूले बारम्बार उहाँको भौतिक स्थान र क्षमतामाथि प्रश्न उठाएका छन्। जुलाईमा साउदी समाचार संस्था अल–हदाथले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै दाबी गरेको थियो कि खामेनी ‘इरानमा हुनुहुन्न’।'
लगभग त्यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजमा अन्तर्वार्तामा दाबी गरेका थिए, 'इरानको शीर्ष सैन्य नेतृत्व समाप्त पारिएको छ र खामेनीको स्वास्थ्य अवस्था ‘९० प्रतिशत गएका’ अस्वस्थ अवस्थामा रहेको र उहाँ सैन्य अभियानपछि अशक्त रहनुभएको छ।'
इरानी अधिकारीहरूले यसअघि उनका प्रारम्भिक चोटहरूको गम्भीरतालाई कम जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए तर प्रत्यक्ष उपस्थिति वा प्रत्यक्ष सार्वजनिक सम्बोधनको निरन्तर अभावले उनको स्वास्थ्य र नेतृत्व स्थिरताबारे तीव्र क्षेत्रीय र अन्तर्राष्ट्रिय अटकलबाजीमा निरन्तर बल थपिने गरेको छ।
पश्चिमी र विपक्षी खुफिया स्रोतहरूले बारम्बार उनलाई गम्भीर वा अनुहार नै बिग्रिनेगरी लागेका चोटहरू का कारण उनी प्रत्यक्ष रूपमा सार्वजनिक कार्यक्रममा उपस्थितिबाट पूर्ण रूपमा टाढा हुने गरेको दाबी गरेका छन्। यसले उनलाई केवल लिखित वक्तव्यमा निर्भर गराएको उनीहरूको दाबी छ यद्यपि, इरानी अधिकारीहरूले भने ती आरोपको खण्डन गर्दै आएका छन्।
इरानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले यसअघि उनका प्रारम्भिक चोटहरू सतही रहेको बताएका थिए र वरिष्ठ अधिकारीहरूले पनि यसैलाई आधिकारिक बताउने गरेका थिए। इरानी सरकारी अधिकारीका अनुसार उनले देशका लागि रणनीतिक निगरानी र सञ्चालन निर्देशनहरू निरन्तर दिइरहेका छन्। एएनआई
प्रकाशित: २३ श्रावण २०८३ ०७:०६ शनिबार





