२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नेताका नामका भवन मर्मत गर्न ११ करोड

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा चार शीर्ष नेता बिपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र गजेन्द्रनारायण सिंह स्मृति भवनको मर्मत तथा सम्भार गर्न ११ करोड रुपैयाँ बजेट छुट्याएको छ।

उक्त बजेट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत छुट्याइएको हो। ती चार भवन पर्यटकीय केन्द्र र ऐतिहासिक महत्त्वपूर्ण भवन भएकाले मर्मत–सम्भार गर्न बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले बताए। ‘पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएका भवनको मर्मत तथा सम्भार गर्नु सरकारको काम हो,’ आचार्यले भने। उनका अनुसार उक्त बजेट अझै कार्यान्वयनमा आएको छैन। ‘तर कसैले विनियोजन गरिएको बजेट लिन अस्वीकार गरे उक्त रकम अन्य शीर्षकमा रकमानन्तर हुन्छ या फ्रिज हुन्छ,’ उनले भने।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ती चार भवनमा आगलागी भई क्षतिग्रस्त भएका थिए। ती चार भवनको मर्मत तथा संरक्षण गर्न सरकारले चालु आवमा बजेट छुट्याएको हो।

मन्त्रालयका अनुसार बिपी कोइरालाको जन्मघर कोइराला निवास मर्मत तथा सम्भार विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पताल चोक मोरङलाई दुई करोड, मदन भण्डारी स्मृति भवन निर्माण तथा सम्भार रतुवामाई नगरपालिका–१० मोरङलाई दुई करोड, गजेन्द्रनारायण सिंह स्मृति भवन मर्मत तथा सम्भार राजविराज सप्तरीलाई दुई करोड तथा कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माण तथा सम्भार बाडेगाउँ ललितपुरलाई पाँच करोड बजेट छुट्याइएको छ।

हाल ती चार घर नेपाली राजनीतिक तथा सामाजिक इतिहाससँग महत्त्वपूर्ण रूपमा जोडिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा तत्कालीन सहरी विकास मन्त्रालयले दर्जनौं ठाउँमा विभिन्न पार्टीका शीर्ष नेताका नाममा निर्माण भएको निवास तथा स्मृति भवनको मर्मत–सम्भार गर्न तथा अन्य शीर्षकमा करोडौं बजेट छुट्याएको थियो तर चालु आवमा भने कुनै पनि नेताका नाममा भवन तथा अन्य शीर्षकमा साबिकाको सहरी विकास मन्त्रालय तथा हालको पूर्वाधार विकास मन्त्रालयले एक रुपैयाँ पनि बजेट नछुट्याएको उक्त मन्त्रालयका एक सहसचिवले बताए।

पोहर साल तत्कालीन सहरी विकास तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहको पालामा नेताका नाममा निर्माण भएको निवासको मर्मत तथा अन्य शीर्षकमा यसरी ठुलो रकम बराबरको बजेट छुट्याइएको थियो।

कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगर–७ स्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्। उनले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई चिठी लेख्दै कोइराला निवासको मर्मत तथा संरक्षणमा विनियोजन गरिएको रकम आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने बताएका हुन्। सो रकम अन्य अत्यावश्यक क्षेत्रमा खर्च गर्न पनि सरकारलाई अनुरोध गरिएको छ। मुलुक आर्थिक अभावसहित विभिन्न समस्या हुँदा राज्यको सीमित स्रोतसाधन नागरिकको हितमा प्रयोग हुनुपर्ने उनको भनाइ छ। ‘राज्यसामु आमनागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन् त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक, विराटनगर महानगरपालिका–७ कोसी अस्पताल चोक मोरङस्थित (कोइराला निवास) को मर्मत तथा सम्हार भनी विनियोजन गरिएको उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु,’ चिठीमा उनले भनेका छन्, ‘विराटनगर महानगरपालिका वार्ड नं. ७ स्थित पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शताब्दी पहिले निर्मित घर, जो कोइराला निवास भनी चिनिन्थ्यो, गत वर्ष भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा जलाइयो। यसको ऐतिहासिकता भौतिक रूपमा नष्ट गर्ने काम भयो।’

बिपी सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्षरत रहेको स्मरण गराउँदै चिठीमा उनले भनेका छन्, ‘राज्यले त्यसतर्फ समग्र रूपमा आफूलाई समर्पित गरोस्, यही नै बिपीप्रति सच्चा श्रद्धाञ्जली हुने छ, यही नै कोइराला निवासप्रति न्याय गरेको ठहरिने छ।’ डा. शेखरका पिता कृष्णप्रसाद कोइरालाले शताब्दीअघि उक्त घरको निर्माण गरेका थिए।

प्रकाशित: २३ श्रावण २०८३ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App