१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आज नागपुरमा प्रदर्शन गर्दै कक्रोच जनता पार्टी, डिजिटल सेन्सरसिप लागू गरिएको आरोप

कक्रोच जनता पार्टी (सीजेपी) ले बिहीबार भारतको नागपुरमा ‘लोकतन्त्र बचाऊ, संविधान बचाऊ’ कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त प्रदर्शन साँझ ४ बजे संविधान चोकमा हुने तय भएको छ।

यसअघि पार्टीका सहसंयोजक आशुतोष रांकाले भारतमा डिजिटल सेन्सरसिप लागू भइरहेको आरोप लगाएका छन्।

बिहीबार समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले सन् २०२६ को जनवरीदेखि जुनसम्म मेटाले ५४ लाख पोस्ट हटाएको बताए। प्रत्येक पटक सरकारको निर्देशन वा नियमको पालना गरेको भन्दै पोस्ट हटाइएको उनको भनाइ छ।

उनले प्रश्न गर्दै भने, ‘यो देशमा यस्तो के भयो कि केवल ६ महिनामै ५४ लाख पोस्ट हटाउनुपर्‍यो? प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थनमा रहेका सामग्रीलाई एल्गोरिदमले प्राथमिकता दिइरहेको छ भने बाबासाहेबसँग सम्बन्धित सामग्रीलाई तल धकेलिरहेको छ। हामीले विभिन्न मुद्दा उठाउन खोज्दा पनि एल्गोरिदमले ती सामग्रीलाई दबाउने काम गर्छ।’

रांकाले भारतमा खुला रूपमा डिजिटल सेन्सरसिप लागू भइरहेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। यसविरुद्ध एकजुट भएर आवाज उठाउने उनको भनाइ छ।

यसैबीच, सीजेपीका संस्थापक अभिजित दीपकेले बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीसँग सम्बन्धित सामग्रीलाई बढावा दिइएको तर अन्य राजनीतिक पोस्टहरूलाई दबाइएको आरोपसमेत लगाएका थिए।

प्रकाशित: १० मंसिर २०८३ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App