संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई न्याय सुनिश्चित गर्न प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै गुटेरेसले तीन वर्षअघि नेपालको भ्रमणका क्रममा हिमनदी पग्लने गति बढ्दै गएको र विश्वका ‘छाना’ ढल्दै गएकोबारे आफूले चेतावनी दिएको स्मरण गरे।
उनले त्यतिबेला आफ्नो चेतावनीलाई कतिपयले अतिरञ्जित खतराका रूपमा लिएको भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, तीव्र र व्यापक रूपमा देखिन थालेको प्रमाणित गरेको बताए।
‘तीन वर्षअघि नेपालको पहाडमा मैले हिमनदी पग्लने गति बढ्दै गएको र विश्वका छानाहरू ढल्दै गएको चेतावनी दिएको थिएँ। कतिपयले यसलाई अतिरञ्जित खतराका रूपमा खारेज गरेका थिए,’ गुटेरेसले भने।
उनले जलवायु परिवर्तनका प्रभावले अहिले गम्भीर रूप लिन थालेको उल्लेख गर्दै यसबाट सबैभन्दा बढी प्रभावित समुदाय र मुलुकलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए।
‘दुःखद घटनाहरूले पनि देखाएका छन्, प्रभावहरू चाँडै आइरहेका छन्, कडा हुँदैछन् र धेरैले अनुमान गरेभन्दा बढी फैलिरहेका छन्,’ उनले भने।
गुटेरेसले जलवायु संकटको जिम्मेवारीबाट बढी प्रदूषण गर्ने तथा यसबाट बढी नाफा कमाउने पक्ष पन्छिन नमिल्ने बताए। जलवायु परिवर्तनका कारण भएको क्षतिको पुनःस्थापना र जोखिम न्यूनीकरणका लागि उनीहरूले थप योगदान गर्नुपर्ने उनको भनाइ थियो।
‘सबैभन्दा बढी प्रदूषित गर्ने र सबैभन्दा बढी नाफा कमाउनेहरूले उनीहरूले गरेको क्षतिको मर्मत गर्न धेरै काम गर्नुपर्छ। प्रदूषकहरूले तिर्नुपर्छ,’ गुटेरेसले भने।
प्रकाशित: ७ आश्विन २०८३ १३:३० बुधबार



-600x400.jpg)
