इस्लाम धर्मावलम्बीहरूले आज इद-उल-फित्र मनाउँदैछन्। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि चन्द्रमा देखिएसँगै इदको पर्व मनाउने परम्परा रहेको छ।
इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा पनि यो पर्व विशेष रूपमा मनाइने विश्वास गरिन्छ। इदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाव बिर्सेर एकअर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्छन्। ३० दिनसम्मको उपासनापछि अल्लाहप्रति कृतज्ञता व्यक्त गर्दै मिठाई साटासाट गर्ने, उपहार दिने र प्रेम बाँड्ने चलन रहेको छ।
नेपालमा पनि मुस्लिम समुदायले उल्लासका साथ इद मनाएका छन्। राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ। काठमाडौंमा बिहानैदेखि मस्जिदहरूमा श्रद्धालुहरूको भीड देखिएको थियो। नमाजपछि एकअर्कालाई अँगालो हाल्दै शुभकामना आदानप्रदान गरिएको छ भने बालबालिकादेखि वृद्धसम्म नयाँ लुगा लगाएर उत्सवमा सहभागी भएका छन्।
यसरी इद पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश फैलाउने विश्वास गरिन्छ।











प्रकाशित: ७ चैत्र २०८२ १२:०६ शनिबार





