नेपाली कांग्रेसको वडा अधिवेशनमा यसपटक एउटा फरक दृश्य देखियो-वडाको नेतृत्वका लागि पुरानो पुस्ताभन्दा युवा पुस्ताबिच नै प्रतिस्पर्धा।
वीरेन्द्रनगर नगरपालिका-३ मा वडा सभापतिमा युवा नेता सरस्वती थापा चयन हुनु त्यसैको एउटा उदाहरण हो। उनीसँग वडाध्यक्षका लागि प्रतिस्पर्धा गर्नेहरू पनि अधिकांश युवा पुस्ताकै थिए। दैलेखको नारायण नगरपालिका-२ मा पनि वडा नेतृत्व युवाकै हातमा पुगेको छ। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय हुँदै आएका युवा नेता धुव्रविक्रम थापा वडा सभापति बनेका छन्।
विद्यार्थी राजनीतिदेखि पार्टी संगठनमा सक्रिय थापाका लागि नेतृत्वमा पुग्ने यात्रा सहज भने थिएन, तर पार्टीभित्र नयाँ पुस्ताको उपस्थिति बढ्दै जाँदा उनले वडा नेतृत्व सम्हाल्ने अवसर पाए। हुम्लाको खार्पुनाथ गाउँपालिका-५ मा भने युवा नेता चतुरसिंह रोकाय वडा सभापतिमा चयन भएका छन्। विगतमा लामो समयदेखि राजनीतिमा होमिएका पाका नेताहरू वडाध्यक्ष हँुदै आएकोमा यसपालि रोकायलगायत अन्य प्रतिनिधि युवा आउन थालेका हुन्।
कांग्रेसमा लामो समयदेखि पुरानो पुस्ताको प्रभाव बलियो रहँदै आएको थियो, तर पछिल्लो समय मुलुकको राजनीतिक तथा सामाजिक परिस्थितिप्रति युवाको चासो बढेसँगै पार्टीभित्र पनि नेतृत्वका लागि नयाँ पुस्ताको दाबी बलियो बन्दै गएको छ। यसको प्रभाव वडा समितिदेखि क्षेत्रीय प्रतिनिधि छनोटसम्म देखिएको छ।
दैलेखका युवा नेता तथा महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीका अनुसार यसपटक वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोटमा युवाको उल्लेख्य सहभागिता देखिएको छ। ‘पछिल्लो समय युवामा कांग्रेसप्रतिको विश्वास बढेको छ’, उनले भने, ‘त्यसकै परिणाम वडा तहदेखि क्षेत्रसम्म युवाको उपस्थिति राम्रो देखिएको हो।’
युवाको आकर्षण केवल नेतृत्वमा दाबी गर्नेमा मात्र सीमित छैन। पार्टीका विभिन्न तहमा प्रतिनिधित्व गर्ने अवसर खोज्ने युवाको संख्या पनि बढेको कांग्रेस नेताहरू बताउँछन्। यसले कांग्रेसको संगठनभित्र पुस्तान्तरणको बहसलाई थप बल दिएको छ।
कर्णालीका हिमाली जिल्लामा भौगोलिक कठिनाइका कारण केही वडा अधिवेशन सम्पन्न हुन बाँकी रहे पनि सम्पन्न भएका अधिकांश वडामा नेतृत्व चयन विवादरहित रूपमा भएको कांग्रेसले जनाएको छ। मुगुका ११ वटा वडामा सोमबारसम्म अधिवेशन हुन सकेको छैन। हिमाली जिल्लाको विकट भूगोल, यातायातको कठिनाइलगायतका कारण अधिवेशन प्रभावित भएको बताइएको छ।
हुम्लामा पनि ४३ वडामा अधिवेशन सम्पन्न भए पनि दुई वडामा भौगोलिक कठिनाइका कारण अधिवेशन हुन बाँकी छ। कर्णालीमा २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडा छन्। तीमध्ये राजनीतिक विवादका कारणभन्दा पनि हिमाली जिल्लाको कठिन भूगोललगायतका कारण एक दर्जनभन्दा बढी वडामा अधिवेशन हुन बाँकी रहेको कांग्रेस नेताहरूको भनाइ छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ मा निर्वाचन समितिले सरस्वती थापालाई वडाध्यक्ष घोषणा गरे पनि चुनावी प्रतिस्पर्धा नगराएको भन्दै अर्का युवा नेता बालकृष्ण चालिसेले निर्वाचन समितिविरुद्ध उजुरी दिएका छन्।
प्रकाशित: ६ आश्विन २०८३ १३:०८ मंगलबार





