२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नआत्तिनुहोस्, सही समय आउन केही समय लाग्छ: प्रधानमन्त्री

सरकारका कामकारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य कायम राख्न आग्रह गरेका छन्।

शुक्रबार मध्यराति सामाजिक सञ्जालमा लेख्दै उनले नागरिकलाई नआत्तिन अपिल गरेका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालदेखि सर्वसाधारणको दैनिकीसम्म सरकारको कार्यसम्पादनप्रति तीव्र असन्तोष प्रकट भइरहेको छ।

विशेष गरी एलपी ग्यास, राहदानी (पासपोर्ट) तथा अस्पतालमा सेवा लिन नागरिकले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता कायमै छ।

सरकारले सबै सरकारी कागजात र सेवा नागरिकका घरघरमै पुर्‍याउने दाबी गरे पनि व्यवहारमा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ।

मुख्य सिजनमै किसानले युरिया मल नपाउने, सेयर बजारमा निरन्तर गिरावट आउने, सवारी लाइसेन्स प्रणालीमा समस्या देखिने जस्ता समस्याले जनजीवन प्रभावित बनेको छ।

यस्तै चौतर्फी दबाब र जनगुनासो बढिरहेका बेला प्रधानमन्त्री शाहले मध्यराति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’

बाहिर देखिने प्रचार र वास्तविक परिस्थितिमा भिन्नता हुन सक्ने भन्दै उनले अगाडि लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रकाशित: २२ श्रावण २०८३ २३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App