बर्दियामा जबर्जस्ती करणी प्रयास र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक भएका छन् । एक घटनामा आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्को घटनाका आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मधुवन नगरपालिका–७ तारातालकी फरक क्षमता भएकी ३२ वर्षीया महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको आरोपमा स्थानीय ७५ वर्षीय रामप्रसाद थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती महिला आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको अवस्थामा रामप्रसादले जबर्जस्ती करणीको प्रयास गरेका थिए । घटनाबारे शुक्रबार अपराह्न ३:३० बजे सूचना प्राप्त भएपछि ताराताल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, बारबर्दिया नगरपालिका–११ लम्कीफाटाकी २९ वर्षीया महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा प्रहरीले अर्का एक व्यक्तिको खोजी सुरु गरेको छ । प्रहरीका अनुसार गत साउन ४ गते राति करिब ३ बजे ती महिला घरमा सुतिरहेको अवस्थामा स्थानीय ४५ वर्षीय कमलराज विकले घरमा बुहारीलाई सुत्केरी व्यथा लागेको भन्दै सहयोगका लागि ढोका खोल्न लगाई जबर्जस्ती करणी गरेका थिए ।
पीडित महिलाले बिहीबार इलाका प्रहरी कार्यालय मोतिपुरमा जाहेरी दिएपछि प्रहरी चौकी कतर्नियाघाटबाट प्रहरी टोली खटिएर अनुसन्धान थालेको थियो । घटनापछि आरोपित फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
ट्युसन पढ्न गएकी बालिकामाथि मण्डलीमै जबर्जस्ती करणी
बर्दियाको गुलरिया नगरपालिका–५ मनकामना टोलमा ट्युसन पढ्न गएकी ६ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको आरोपमा प्रहरीले १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार साँझ करिब ७:३० बजे उक्त घटना भएको हो ।
गुलरिया–५ निवासी ६ वर्षीया बालिका स्थानीय सामुदायिक मण्डलीमा ट्युसन पढ्न गएकी थिइन् । सोही क्रममा १६ वर्षीय एक किशोरले बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ । घटनाबारे बिहीबार साँझ करिब ६ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली तत्काल घटनास्थलमा खटिएको थियो । प्रहरीले आरोपित किशोरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश बोहराले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरिएको र आरोपितलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा आवश्यक मनोसामाजिक सहयोगको प्रक्रिया पनि अघि बढाइएको जनाएको छ । घटनाको प्रकृति संवेदनशील भएकाले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले थप विवरण सार्वजनिक नगरिएको प्रहरीले स्पष्ट पारेको छ ।
बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनाले अभिभावक, विद्यालय तथा समुदायलाई थप सचेत बन्नुपर्ने आवश्यकता औँल्याएको छ । विशेषगरी ट्युसन, विद्यालय वा अन्य शैक्षिक गतिविधिमा जाने साना बालबालिकाको सुरक्षाप्रति सबै पक्षले विशेष ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । प्रहरीले बालबालिकामाथि हुने कुनै पनि प्रकारका हिंसा वा दुर्व्यवहारका घटना लुकाएर नराखी तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।
बाख्रा चराउन गएकी किशोरीमाथि जबर्जस्ती करणी
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ भम्पा क्षेत्रमा बाख्रा चराउन गएकी एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार बिहान करिब १० बजे राप्तीसोनारी गाउँपालिका–१ का करिब १८ वर्षीया किशोरी स्थानीय लामेडाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकी थिइन् । सोही क्रममा सोही स्थानका ३८ वर्षीय रुपलाल खुनाले ललाइफकाइ गरी जबर्जस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित पक्षले बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो । इलाका प्रहरी कार्यालय कुसुमबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रसनि) को नेतृत्वमा खटिएको टोलीले आरोपित रुपलाल खुनालाई उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका आरोपितमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । यस्ता घटनामा पीडितले ढिलाइ नगरी प्रहरीमा उजुरी दिनुपर्ने र कानुनी उपचारका लागि राज्यका निकायले आवश्यक सहयोग गर्ने प्रहरीले जनाएको छ । प्रहरीले यौनजन्य हिंसाका घटनामा पीडितको गोपनीयता संरक्षण गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताएको छ ।
प्रहरीले घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेकाले यसबाहेक थप विवरण सार्वजनिक गरिएको छैन । अदालतबाट दोष प्रमाणित नभएसम्म पक्राउ परेका व्यक्ति कानुनतः आरोपित मात्र मानिनेछन् ।
प्रकाशित: २२ श्रावण २०८३ २१:१७ शुक्रबार





