नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले ‘झोले’ भन्दा पनि गौरवका साथ ‘हो म कांग्रेसको झोले हुँ’ भनेर छाती पिट्न सक्ने स्वाभिमानी र गर्विलो पार्टी बनाउने दाबी गरेका छन्।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको मर्म र आत्मा नमार्ने गरी कांग्रेसलाई पुनर्जाग्रत गराइने बताए।
राजनीतिमा पद मात्रै सफलताको मानक हुन नसक्ने तर्क गर्दै उनले भने, ‘पद पाउने वा सांसद बन्ने कुरा मात्रै सफलता होइन, समाजमा आर्जन गरेको प्रतिष्ठा र सम्मान नै वास्तविक सफलता हो। हामीले पदभन्दा माथि उठेर प्रतिष्ठालाई सफलताको मानक बनाउनुपर्छ।’
सभापति थापाले पार्टीभित्रका आन्तरिक मतभेदहरूलाई मिलाएर कांग्रेसलाई एकढिक्का बनाइने तर त्यस क्रममा पार्टीको चरित्र र आत्मा समाप्त हुन नदिइने प्रतिबद्धता व्यक्त गरे। अग्रजहरूको पालामा जस्तै कांग्रेस भन्न पाउँदा गौरव महसुस हुने वातावरण पुनः स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
भोलि (आइतबार) देखि सुरु हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकबाट समसामयिक विषयमा आवश्यक निर्णयहरू गरिने जानकारी दिँदै थापाले त्यसलगत्तै पार्टीको महाधिवेशनका प्रक्रियाहरूलाई अघि बढाइने बताए।
प्रकाशित: २३ श्रावण २०८३ १५:१६ शनिबार





