१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

ड्रोनसहित उच्च प्रविधिबाट सुनकोशीमा खोजी, पीडितको आन्दोलनले मध्यपहाडी लोकमार्ग अवरुद्ध

फिक्कल गाउँपालिका–२ नवलपुरमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीन जनाको खोजीका लागि नेपाल प्रहरीले ड्रोनसहित उच्चस्तरीय प्रविधिको प्रयोग गरेको छ।

सोमबार भएको दुर्घटनापछि निरन्तर खोजी जारी रहे पनि मंगलबार साँझसम्म कार तथा बेपत्ता व्यक्तिहरूको कुनै अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रबहादुर सिंहका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोलीले ड्रोन, गोताखोर तथा अन्य प्राविधिक उपकरणको प्रयोग गरी खोजी कार्यलाई तीव्र बनाएको छ। तर सुनकोशी नदीको तीव्र बहाव, धमिलो पानी र बाढीका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको उनले बताए।

दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता छन्। घटनास्थल आसपासका क्षेत्रमा निरन्तर खोजी भइरहे पनि हालसम्म कुनै संकेतसमेत फेला नपरेको प्रहरीले जनाएको छ।

यता, बेपत्ता भएका व्यक्तिका परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै मंगलबार बिहानदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले नवलपुर क्षेत्रमा टायर बालेर सडक बन्द गरेका हुन्। पीडित परिवारले दुर्घटना भएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि बसधनी र सम्बन्धित यातायात समितिले कुनै चासो नदेखाएको तथा पीडित परिवारसँग समन्वय नगरेको आरोप लगाएका छन्।

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ। प्रहरी प्रमुख सिंहका अनुसार स्थानीयवासी तथा पीडित पक्षले खुर्कोट र नवलपुर गरी दुई स्थानमा सडक अवरुद्ध गरेका थिए। हाल भने खुर्कोट खण्डमा सडक सञ्चालनमा आइसकेको छ।

प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको यात्रुबाहक बसले खुर्कोटबाट खोटाङतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई सडक छेउमा रोकिएको अवस्थामा पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। उक्त कार मध्यपहाडी लोकमार्ग पुनर्निर्माणमा संलग्न निर्माण कम्पनीको रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेर अनुसन्धान अघि बढाएको छ।

सडक अवरुद्ध भएपछि मध्यपहाडी लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन प्रभावित भएका छन्। स्थानीय प्रशासनले पीडित पक्षसँग वार्ता गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ। यसैबीच, बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइएको र आवश्यक सबै स्रोत–साधन परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८३ १८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App