१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिँदै कुलमानले भने: अबको विकल्प उज्यालो नेपाल हो

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले पार्टीका नेता–कार्यकर्तालाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मुख्य लक्ष्य बनाएर संगठन विस्तार र तयारीमा जुट्न निर्देशन दिएका छन्।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी आगामी निर्वाचनपछि देशको सशक्त राजनीतिक विकल्पका रूपमा स्थापित हुने दाबी गरे।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै त्यसपछि संघीय निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताए। वर्तमान सरकार लामो समय टिक्ने अवस्था नरहेको दाबी गर्दै उनले सरकारको पछिल्लो चार महिनाको कार्यसम्पादनले नै त्यसको संकेत दिएको टिप्पणी गरे।

घिसिङले भने, “पहिले स्थानीय तह र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुनुपर्छ। त्यसपछि संघीय निर्वाचनको तयारी गरौं। अहिलेको सरकार पाँच वर्ष टिक्ने अवस्था छैन, चार महिनाको कामले नै त्यो देखाइसकेको छ। त्यसैले हामीले पाँच वर्ष पर्खिरहनु पर्दैन। उज्यालो नेपाल पार्टी नै अबको सशक्त विकल्प हो।”

उनले बागमती प्रदेशसहित देशभर पार्टीको संगठन बलियो बनाउने लक्ष्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी पनि गरे।

अध्यक्ष घिसिङले अघिल्लो निर्वाचनमा पराजित भए पनि पार्टीले जनविश्वास जित्न सफल भएको जिकिर गर्दै अब संगठन विस्तार, सदस्यता वितरण अभियान र जनसम्पर्कलाई तीव्र बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए।

साथै, अन्य राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्तालाई पनि उज्यालो नेपाल पार्टीमा आबद्ध हुन आह्वान गर्दै उनले देशलाई नयाँ राजनीतिक विकल्प आवश्यक रहेकाले त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे।

 

प्रकाशित: १६ श्रावण २०८३ १६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App