२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधनमा सभापति थापाले गरे दुःख व्यक्त

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। नेता श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको थापाले बताएका छन्। 

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठले पुर्‍याएको अविचलित भूमिका सधैं प्रेरणादायी रहने बताएका छन्। ‘स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ। पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

थापाले दिवङ्गत नेता श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, नेता श्रेष्ठले देखाएको निष्ठा र समर्पणको बाटोमा कांग्रेस निरन्तर हिँडिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

प्रकाशित: १२ श्रावण २०८३ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App