२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलक्षित महेशको टिप्पणी : स्टाटसले होइन, काम र परिणामले सही प्रमाणित गर्नुपर्छ

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्।

राजनीति भावनात्मक अभिव्यक्तिबाट नभइ काम र परिणामबाट प्रमाणित हुने बताउँदै उनले टिप्पणी गरेका हुन्। 

बस्नेतले शाहको स्टाटसमा लेखिएको 'केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’ भन्ने भनाइ उद्धृत गर्दै उनीमाथि सत्ता त्यागका लागि व्यापक दबाब बढिरहेको हुनसक्ने टिप्पणी गरेका छन्।

'केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन' मध्यरातमा आएको बालेन जीको यो स्टाटस पढ्दा लाग्छ, उनी माथि सत्ता त्यागको लागी व्यापक दबाब बढ्दै गएको छ र आफ्नै निर्णय तथा कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिन्छ,' बस्नेतले भनेका छन्।

उनले उक्त स्टाटसले आफ्नै निर्णय र कार्यशैलीलाई सही साबित गर्नुपर्ने बाध्यता देखिएको दाबी गरेका छन्। ‘दुःख पायो मंगले, आफ्नै ढङ्गले!’ भन्दै बस्नेतले राजनीतिक नेतृत्वले जनतालाई आश्वासनभन्दा परिणाम दिनुपर्ने बताएका छन्।

बस्नेतका अनुसार जनताले अब ‘सही समय आउँछ’ भन्ने आश्वासन मात्र नभइ आफूले भोगिरहेका समस्या समाधान भएको र जीवनमा वास्तविक उन्नति तथा प्रगति भएको देख्न चाहेका छन्। उनले चुनावमा प्राप्त जनमत र जनताको विश्वासलाई बिर्सन नहुने भन्दै जनताले साथ दिएर सत्तामा पुर्‍याएको अवस्थामा जनताको प्रश्न र आलोचनाबाट भाग्न नमिल्ने बताएका छन्।

'एक्लै लडेको दाबी गर्नुअघि चुनावमा पाएको जनमत र जनताको विश्वास बिर्सन मिल्दैन। जनताले साथ दिएर सत्तामा पुर्‍याएका हुन् भने जनताको प्रश्न र आलोचनाबाट भाग्न पनि मिल्दैन,' बस्नेतले भनेका छन्, 'समय अवश्य आउँछ, तर समयले मात्र सबै कुरा बदल्दैन। काम, व्यवहार र परिणाम नै असली मापदण्ड हुन्।’

साथै, उनले को सही थियो, को गलत थियो भन्ने कुरा अन्ततः स्टाटसले नभइ इतिहासले फैसला गर्ने दाबी गरे।

प्रकाशित: २३ श्रावण २०८३ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App